चैत्र ६, २०८० मंगलबार

झापाका सिडियो भन्छन् : जिल्लाको समस्या कीर्ते नागरिकतादेखि गोरु तस्करीसम्म !

गौरव पोखरेल

झापा । भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । ताप्लेजुङ, पाँचथर र इलाम, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट सुविधा खोज्दै बसाईं झर्नेहरु झापामै आएर ठोकिन्छन् ।
त्यतिमात्र होइन, विगतमा भूटानी शरणार्थीलाई पनि झापाले नै व्यहोर्नुप¥यो । कैयौं भूटानीले नेपाली नागरिकता नै बनाए ।

भुटानमात्र होइन, दार्जीलिङ, सिक्किम, आसाम, मणिपुर हुँदै म्यानमारसम्मका नेपालीभाषी विदेशी नागरिकहरु नेपाल छिर्ने प्रमुख द्वार नै यही जिल्ला हो ।
पछिल्लो समय झापामा फर्जी नागरिकता बनाएर घरजम गर्ने भारतीयहरुको संख्या बढ्न थालेको चर्चा छ । यही क्रममा अघिल्लो साता कचनकवल गाउँपालिकाले एक भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिएको घटनाले जिल्ला प्रशासनलाई गम्भीर रुपमा झस्काएको छ ।
गृहमन्त्रालयले अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने सर्कुलर गर्नासाथ झापामा नागरिकता लिनेहरुको लाइन ७६ जिल्लाको भन्दा बढी देखिएको थियो ।

तर, नक्कली नागरिकता लिनै लाग्दा एक भारतीय नागरिक पक्राउ परेपछि नागरिकता लिनेहरुको लाइन स्वात्तै घटेको झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल बताउँछन् ।
जिल्लामा भारतीयले नागरिकता लिइरहेको दाहालले स्वीकार नगरे पनि उनको अभिव्यक्तिले जनप्रतिनिधिहरुमार्फत त्यस्तो भइरहेको हुन सक्ने संकेतचाहिँ दिएको छ ।


प्रजिअ दाहालका अनुसार भारतसँग खुल्ला सीमाना जोडिएकाले यहाँ गाईगोरुको तस्करी अधीक हुने गरेको छ । त्यस्तै भूमाफियाहरुले सरकारी जमिन हडप्ने समस्या पनि झापामा देखिएको छ । प्राकृतिक स्रोत साधनको दोहनमा भने स्थानीय तहका जनप्रतिनिधिले समन्वयात्मकरुपमा प्रभावकारी काम गर्न नसकेको दाहालले बताए ।


यिनै सन्दर्भहरुमा झापाका प्रजिअ दाहाललाई जिल्लाको मुख्य चुनौती के–के हो भनेर सोध्यौं । सुरुमा चाहिँ हामीले झापामा भारतीयले लिएको नागरिकताबाट वार्तालाप सुरु गर्यौं ।


गृहमन्त्रालयले वंशजका आधारमा नागरिकता वितरण खुला गर्दा प्रदेश २ का जिल्लाहरुमा बढी वितरण होला भन्ने कतिपयको दाबी थियो । तर, त्यस्तो अनुमानविपरीत झापामा नागरिकता लिनेको भीड बढी देखियो । किन होला ?
पहिलो कुरा त झापामा पहिले नै जन्मका आधारमा नागरिकता लिनको संख्या बढी रहेछ । दोस्रो, त्यसरी नागरिकता नागरिकता लिनेको संख्या गाँठिएर बस्यो । उनीहरुले एकदम चासो राख्थे । त्यसबेला हामीले कानून बन्दैछ, त्यसपछि हुन्छ भन्ने जवाफ दिन्थ्यौं । उनीहरु केमा आश्वस्त हुन्थे भने अब नागरिकता बन्छ । र, अब नागरिकता पाइने भयो भनेर उनीहरु तयारी अवस्थामा रहे । त्यसैले, अहिले नागरिकता वितरण खुल्ने वित्तिकै उनीहरु एकैपटक आएकाले संख्या बढी देखिएको हुन सक्ने हाम्रो अनुमान छ ।
केही दिनअघि मात्रै झापा जिल्ला प्रशासनबाट भारतीय नागरिकले नागरिकता लिन खोजेको आरोपमा एकजना रंगेहात पक्राउ नै परे । यसले सीमावर्ती दार्जीलिङ, सिक्किम लगायतबाट

झापामा आएर नागरिकता लिइने गरेको संकेत गर्दैन ?
गैरनेपालीलाई नागरिकता दिने भन्ने कुरा कल्पनै गर्न सकिँदैन । किनभने, त्यसमा केही निश्चिम मापदण्डहरु छन् । जस्तै बसोबास, बुबाआमाको नागरिकतादेखि लिएर हरेक कुरा हेरिन्छ । तर, केही दिनअघिको घटनामा जस्तै जनप्रतिनिधिबाटै सबै कागजपत्र मिलेर आयो भने चाहिँ समस्या हुन्छ ।
त्यो घटनामा हामीले उनको औंलाको कालो चिन्ह (मतदान गरेपछि लागेको मसी) प्रष्टसँग देख्यौं । दुई दिनअघि भारतमा चुनाव भएकाले हामीलाई शंका लाग्यो र बोलाएर सोधपुछ गर्दा उनले आधार कार्ड देखाए । अनुसन्धान गर्दै जाँदा उनलाई नागरिकता बनाइदिन वडाध्यक्षले सिफारिस दिएका रहेछन् ।
वडा सदस्यदेखि अन्य स्थानीयवासी पनि सर्जिमिन मुचुल्का तयार गर्न संलग्न छन् । संयोगवस हाम्रो नजर उनको औंलामा भएको कालो चिन्हमा गयो । यदि हामीले हातमा केयर नगरेको भए !

भनेपछि जनप्रतिनिधिको मिलेमतो भएको केशमा भारतीयले नागरिकता लिएको पत्तै नहुने रहेछ होइन ?
त्योचाहिँ समस्या देखियो । तर, हामीले स्थानीय जनप्रतिनिधिलाई विश्वास नगरे कसलाई गर्ने ? हामीले विश्वास गर्ने नै स्थानीय प्रतिनिधिलाई हो । वडाध्यक्षलाई हो । कर्मचारीभन्दा जनप्रतिनिधि विश्वासिला हुन् । त्यो कारणले गर्दा कागज सबै मिलेर आयो भने समस्या हुने देखियो । यद्यपि, अहिलेसम्म घटनामाथि छानविन र अनुसन्धान जारी छ ।


झापामा त्यसैगरी अन्य गैरनागरिकले पनि नागरिकता लिएको सूचना छ कि ?
हालसम्म त्यस्तो गुनासो वा उजुरी आएको छैन । मेरो मतलव झापाको हकमा छैन । पर्साको एउटा घटना पत्रपत्रिकामा पढेँ । तर, हामी सशंकित चाहिँ केमा छौं भने यसरी भारतीय नागरिकहरु कागज मिलाएर नागरिकता लिन आउनु दुःखद कुरा हो । अझ जनप्रतिनिधि समेतले सिफारिस गरिदिनु झन् गम्भीर कुरा हो । यो घटनापछि हामी थप सतर्क चाहिँ भएका छौं । नागरिकता फाँटवाला साथीहरु पनि सतर्क हुनुभएको छ ।
तर, एउटा महत्वपूर्ण कुराचाहिँ के भन्छु भने जब हामीले भुपाल गुरुङ भन्ने व्यक्तिलाई पक्राउ गरेर प्रहरीलाई बुझायौं, त्यसको भोलिपल्टदेखि ह्वात्तै भिड घटयो ।


भनेपछि गुरुङजस्ता अन्य भारतीय पनि नागरिकता लिन आएका हुन सक्छन् ?
यस्तो हर्कत अरु पनि थिए कि ? भन्ने यसको संकेत हो । भिडचाहिँ उल्लेख्य रुपमा घटेको थियो । हामीले आशंका गर्ने न हो । त्यो परिस्थितिले आशंका गर्ने ठाउँ दिएको छ ।
मान्छे पक्रेको छ । अनुसन्धान भइरहेको छ । कानूनअनुसार कारवाही हुन्छ । त्यसले गर्दा अब यसमा थप सतर्क हुनुपर्छ । हामीले वडालाई पत्राचार गरेको छौं । वडाध्यक्षले मलाई थाहा छैन भनेका थिए । सदस्यले ल्याएकाले गरेको भन्ने उनको भनाइ थियो । यसमा उहाँहरुको बदनियत नै नभए पनि त्रुटि त भयो । अनुसन्धानको प्रारम्भिक रुपमा लापरवाही त देखियो ।


तपाईं प्रमुख जिल्ला अधिकारीका रुपमा झापा आउनुभएको एक वर्ष भएछ । यतिञ्जेलमा यहाँको समस्या के पाउनुभयो ?
झापा समृद्ध जिल्ला हो । मान्छे एकदमै बाठा छन् । सचेत छन् । यहाँको राजनीतिक दलबीच समन्वय पनि अत्यन्तै प्रशंसनीय छ । कुनै समस्या पर्यो भने उहाँहरु यस्तो पर्यो भन्दै आफैं मिलाउन आउनुहुन्छ । त्यसकारणले समग्रमा झापा एकदमै राम्रो छ ।
समस्या त खुला सीमा छ । तस्करी बढी हुने सम्भावना हुन्छ । भू–माफियाबाट पनि सतर्क हुनुपर्छ । अर्को चाहिँ गाइगोरु तस्करीको पनि समस्या देखिन्छ । छाडा चौपायाको पनि समस्याको रुपमा रहेको छ ।


गाईगोरु तस्करीचाहिँ कसरी हुँदोरहेछ झापामा ?
गाईगोरु कचनकबल, घेराबारी, मेचीनगर तल्तिरका सीमाक्षेत्रबाट पारि लगिँदोरहेछ । हामीले यसलाई रोक्ने प्रयास गरिरहेका छौं । कपिलवस्तु र अन्य पश्चिमी जिल्लाबाट समेत ल्याइँदो रहेछ ।
कस्तो हुन्छ भने आन्तरिकरुपमा चौपायालाई हिँड्न दिनुपर्छ । उनीहरुले स्थानीय हटियामा बेच्न लगेको भन्छन् । हटियाहरु सीमानामा लाग्छन् । तर, त्यहाँबाट ठेल्दाठेल्दै पारि पुर्याइहाल्दा रहेछन् । त्यसरी दशगजाबाटै पशु चौपाया लगिने भएकाले समस्या छ ।


तपाईले भूमाफियाको पनि प्रसंग निकाल्नुभयो, कतातिर लक्षित गर्न खोज्नुभएको हो ?
केहीअघि दमकमा सशस्त्र प्रहरीको जग्गा अतिक्रमित भएको विषय सार्वजनिक भएको थियो । त्यहाँका व्यक्तिले ०३२ सालदेखि भोग तिर्दै आएको भन्ने कुरा रहेछ । त्यो विषय सर्वोच्च अदालतसम्म पनि पुगेको थियो ।
सम्मानित अदालतले के हो निवेदकसँग बुझी आवश्यक नापजाँच गरी मालपोत अधिकृतले निर्णय गर्ने आदेश दिएको थियो । अहिले फैसलाले मालपोतले नापजाँच गर्दैछ भन्ने बुझेको छु । तर, त्योभन्दा हामी सतर्क हुनुपर्ने के छ भने त्यो जग्गा सार्वजनिक जग्गा अतिक्रमण गर्नु त भएन । त्यो जग्गालाई मान्छेहरुले सस्तोमा पाइन्छ लिनुस् पनि भन्दै हिँडेका छन् अरे ।
त्यसबाहेक विद्यालयका जग्गा पनि अतिक्रमित छन् । कतिको संख्यामा भन्ने चाहिँ हामीले छानविन थालेका छौं । तथ्यांक निकाल्ने काम भइरहेको छ । सामुदायिक विद्यालयको जग्गा कमाउने कति छन् भन्ने निकाल्न जिल्ला शिक्षा अधिकारीलाई भनेको छु । उनीहरुले कुत पनि बुझाउँदैनन् ।


अहिले झापाको सुरक्षा स्थिति के छ ?
झापाको सुरक्षा स्थिति कस्तो भन्दा पनि यहाँ चुनौति नै खासै छैन । विप्लवको छिटपुट गतिविधि छ । उल्लेख छैन । इलाम र झापाको बोर्डरमा जंगल छ, सेल्टर लिएर बसेका हुन सक्छन् । हामीले हाम्रो उपस्थितिलाई बढाएका छौं । सीमा विवाद पनि छिटपुट हुन सक्छ । अहिलेसम्म त्यो देखिएको छैन । म आइसकेपछि तीनपटक सीमा बैठक बसिसकेका छौं । एकपटक झापा, किसनकञ्ज र पाडाजुँगीमा भयो ।


झापामा सीमा विवादको कुरा पनि बेलाबेला आउने गर्छन्, अहिलेको अवस्था के छ ?
हामीसँग डिजिटल नक्सा छ । त्यसैले भौतिकरुपमा कोही सीमा स्तम्भ लड्दैमा वा बाढीले बगाउँदैमा हाम्रो सीमा मिचिँदैन । डिजिटल नक्सा भनेको दुवै देशका प्राविधिकले तयार पारेको नक्सा हो । त्यो नक्सामा जे छ, त्यही हो ।
सर्वसाधारणले पिल्लर सर्यो वा ढल्यो भन्दैमा सकियो भन्ने सोच्ने गरेको देखिन्छ । तर, त्यस्तो हुँदैन । अर्को कुरा, अहिले दुबै देशको संयुक्त सर्भे टोलीले पनि पुनर्निमाणको काम गरिरहेको छ ।

झापाका नदीमा अवैध उत्खननको समस्या पनि सुनिन्छ नि ?
यो विषयको अधिकारचाहिँ अहिले स्थानीय तहमा गएको छ । यसको अनुगमन समितिको संयोजक नै जनप्रतिनिधि हुनुहुन्छ । जिल्ला समन्वय समितिको संयोजक नदी उत्खनन् सम्बन्धी अनुगमन समितिको सदस्य हुने व्यवस्था छ ।
यद्यपि, अहिले स्थानीय तहबीच समन्वय अभाव भएको हो कि भन्ने जस्तो पनि देखिन्छ । क्षेत्राधिकारको विवाद छ । उत्खननको सूचना आएर अर्को पक्ष जाँदा वडाध्यक्षले आदेश दिएको भन्ने आउँछ । यो अलि मिलिरहेको छैन ।
हामीले नगरपालिकाका मेयर सा’बहरुलाई भनेका छौं, वातावरणीय प्रभाव मूल्यांकन गर्ने कुरामा पछि नपरौं ।


हालै इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा बालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले असन्तुष्टि व्यक्त गरिरहेका रहेछन् । यो घटना के हो ?
हिरासतमा भएको मान्छे झुण्डिएको भन्ने विषयमा शंकै भएन । किनकि, पोष्टमार्टम रिपोर्टले नै त्यो देखाइसकेको छ । यो विषयमा प्रहरीले कुट्यो वा के भएर ज्यान गयो भन्ने जिज्ञासा पनि आयो । चासो पनि भयो । हामीले छानविन प्रक्रिया अघि बढाइसकेको छौं ।

मानवअधिकार आयोगले छानविन गरिरहेको छ । गत भदौ १ गतेदेखि जारी भएको फौजदारी अपराध संहिताका कारण अहिले प्रहरीले साह्रो बोल्न पनि पाउँदैनन्, कुट्ने पिट्ने भन्ने त कुरै हुँदैन । हुनु पनि हुँदैन । तर, यातनाको दिएको हो, होइन भन्ने विषयचाहिँ छानविन सकिएपछि मात्रै निक्र्याैल हुन्छ ।


तर, नागरिक यो कुरा मान्न तयार छैनन् नि ? फेरि हिरासतमा व्यक्तिले आत्महत्या गर्नु भनेको आफैंमा गम्भीर विषय पनि हो । बिर्तामोडमा प्रहरीले समयमै नागरिकलाई वास्तविकता बताउन चुकेको पो हो कि ?
हामी अनुसन्धानमै छौं । कसको त्रुटिले भयो भनेर छानविन भइरहेको छ । दोष देखिए कारवाही हुन्छ ।


काँकरभिट्टा, बिर्तामोड, दमकलगायतका सहरमा यौन व्यवसाय फस्टाइरहेको गुनासो पनि आउँछ नि बेलाबेला ?
यौन व्यवसाय भनेको खुलारुपमा हुने कुरै भएन । प्रहरीले पनि निगरानी बढाएको छ । बेलाबेला गुनासो आउँछ । तर, होटलमा जाँदा त्यस्तो देखिँदैन । मलाई लाग्छ, अहिले त्यस्तोखालको व्यापार गर्ने स्थिति देखिँदैन । बाहिर सर्वसाधारणले भनेजस्तो यो समस्या भयंकर होइन ।

झापावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
म त एउटा कर्मचारी हुँ । यो देश भनेको स्वर्ग हो । त्यसमा पनि झापा जिल्ला त झन पूर्वको एउटा द्वार हो । झापाका जनसमुदाय, पार्टीका दल, कर्मचारी सबैले इमान्दार भएर काम गर्नुपर्छ । इमान्दारिता भनेको शक्ति हो । उसलाई कसैले केही गर्न सक्दैन ।
लोभ भनेको दुश्मन हो । लोभले भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारले सात पुस्ता हान्छ । त्यसकारण सबै नागरिक इमान्दार हुनुपर्यो । घर अगाडि खाल्डो परेको छ भने जनताले पुर्नुपर्यो । कल्चर आफैंले बसाउनुपर्यो । सरकारको मात्र मुख ताक्नु भएन ।


अहिले राज्यप्रति नागरिकको निर्भरता एकदम धेरै छ । जे पनि राज्यले गर्नुपर्छ भन्ने जनताको बुझाइ छ । घर छेउमा कुकर मरेको छ भने दुईजना मान्छेले गाडे हुँदैन ? नगरपालिका कुरेर बसेर हुन्छ ? नागरिकले आफ्नो कर्तव्य पनि बिर्सेका छन् । त्यसैले अधिकार मात्र खोज्ने होइन ।
समृद्धि त्यसै आउँछ ? समृद्धिका लागि प्रत्येक व्यक्तिले त्याग गर्नुपर्छ । पहिले आफैं बदलिए सबै बदलिन्छ । अहिले जनप्रतिनिधिलाई अवसर आएको छ । इमान्दार भएर गुणस्तरीय काम गर्नुपर्यो । कर्मचारीको निगरानी गर्न सके राम्रो हुन्छ । अनलाइनखवरबाट

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]