जेष्ठ २७, २०८२ सोमबार

‘करेन्टको असरले खोलाका माछा हुर्किनै पाएनन्’

बिर्तामोड । झापाको बिरिङ खोलामा शुक्रवार तीन जना व्यक्तिहरु माछा मार्नलाई धमाधम जाल हान्दै थिए । दिउँसो तिर भेटिएका उनीहरुलाई माछा जालमा पार्ने बाहेक अन्य ध्यान थिएन । तर, छोटो कुराकानीका क्रममा उनीहरुले आफुहरु माझी नभएको बताए ।

पूर्वपश्चिम लोकमार्गस्थित विरिङ पुल उत्तर भागमा अहिले छठ पर्वका लागि धमाधम घाट निर्माणको काम भइरहेको छ । सोही घाट नजिकैबाट जाल हान्दै–हान्दै उत्तर तिर लागेकाहरु अर्जुन दनुवारसहित तीन जना रोकिएर गफ गर्न चाहेनन् । दुई जना राजवंशी पुरुषहरुले अुर्जनलाई छोडेर जाल हान्दै माछाको जोहोका लागि अघि बढे ।

अर्जुनले आफुहरु माझी नभएको र व्यवसायिक रुपमा माछा मार्ने काम पनि नगरेको सुनाए । उनले माछा खान मन लागेपछि आफुहरु बेलाबेला विरिङमा जाल हान्न आउने गरेको जानकारी दिए । एक दशकदेखि माछा खानलाई आफै फुर्सद मिलाएर विरिङ छिर्ने अर्जुन र उनका साथीहरु पुलदेखि रातेखालसम्म पुग्ने बताउँछन् ।

पटक–पटक जाल हाने पनि माछा नभेटाएका उनीहरुले विरिङ पुलदेखि रातेखालसम्म पुग्दा मुस्किलले एक पावाभन्दा बढि माछा जोहो हुने जानकारी दिए । अहिले खोलामा जालबाट माछा मार्न कठिन छ, अर्जुनले भने – खोलामा करेन्ट लगाएर माछा मार्नेहरुका कारण जालबाट माछा मार्न कठिनाई भएको छ । उनका अनुसार अहिले ‘माझी दाईहरु’ खोला पस्न छोडिसके । करेन्ट लगाएर माछा मार्नेहरुका कारण भुरा माछा समेत मर्ने र हुर्किन नपाउने उनको भनाई छ । अर्जुनले भने – खोलामा करेन्ट लगाएर माछा मार्न दिन हुदैन । त्यसले माछालाई ठुलो समस्या हुन्छ । करेन्ट नलगाउने हो भने वर्षभरी माछा खान पाइन्छ ।

उनले नदियारी माछा छिटपुट पाइने गरेको सुनाए । निकै लामो दुरी पार गरेर जाल हान्दा पनि एक छाक टार्न मुस्किल हुने उनीहरुको दुखेसो थियो । करेन्ट लगाएर माछा मार्ने काम बन्द हुनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : मंसिर २, २०८० शनिबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]