जेष्ठ १, २०८२ बुधबार

करेन्ट लगाएर माछा मार्नेलाई कारबाही गर

सम्पादकीय
झापाका दर्जनौ खोलाहरुमा माझीले जाल हानेर माछा मार्ने गर्थे । अहिले माझीहरु माछा मार्ने कामबाट पलायन भइरहेका छन् । किनभने, खोलामा मेहनत अनुसार माछा पाइन छोडेको छ । त्यसको मुख्य कारण भनेको करेन्ट लगाएर माछा मार्नु हो । करेन्ट लगाएर माछा मारेपछि माछाका भुरा हुर्कनै पाएका छैनन् । माछाको प्रजनन् मै समस्या भइरहेको छ । माछा मार्न करेन्ट लगाउनेहरुलाई समेत कुनै कारबाही नहुँदा यस प्रकारको अवैध गतिविधि भइरहेको छ । अवैध रुपमा माछा मार्ने व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

करेन्ट लगाउँदा माछाको प्रजनन प्रणालीमै असर परिरहेको छ । यसले माछा मात्र नभई खोलाका अन्य जलचरमा पनि असर परिरहेको छ । जलचर संरक्षण सम्बन्धी कानुन भएपनि त्यसको प्रभावकारी कार्यानवन हुन सकेको छैन । करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो । करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको थियो । जलचर संरक्षण ऐनमा ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन’ उल्लेख छ । उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

झापाको विरिङ सहित विभिन्न नदिहरुमा अहिले पनि करेन्ट लगाएर माछा मारिरहेको पाइन्छ । यस तर्फ स्थानीय सुरक्षा निकाय, स्थानीय सरकार सचेत हुनुपर्ने भएको छ । माछाको लोभमा करेन्ट लगाउँदा केही व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । अर्को पुस्तालाई खोलामा माछा मारिन्थ्यो भन्ने पनि थाहा नहुने अवस्था बन्दै गइरहेको छ । त्यसैले खोलामा करेन्ट लगाउने जस्ता अप्राकृतिक रूपमा माछा मार्ने काम रोकिनुपर्छ । त्यसका लागि आम नागरिकको तर्फबाट पनि भूमिका निर्वाह हुनुपर्छ । कुनै पनि खोलामा माछा मार्न करेन्ट प्रयोग भएको पाएमा प्रहरीलाई खवर गरौं ।

प्रकाशित मिति : मंसिर ३, २०८० आईतबार  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]