भाद्र २४, २०८१ सोमबार

मंसिर ७ : दुर्गा प्रसाईको समर्थनमा कति जादैछन् काठमाडौं ?

बिर्तामोड । काठमाडौंमा मंसिर ७ गते हुने दुई वटा कार्यक्रमले सबैको ध्यान तानेको छ । एकातिर सरकारको खवरदारी गर्न राष्ट्रिय युवा संघ र अर्कातिर दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता र धर्म बचाऊ अभियानले विशाल सभाको तयारी गरिरहेका छन् ।

आज मात्रै जिल्ला प्रशासन कार्यालयले दुवै आयोजकलाई एकै ठाउँ कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । यता, प्रसाई पक्षले आजै प्रशासनलाई रत्नपार्कमा कार्यक्रम गर्ने जानकारी पत्र बुझाइसकेको छ । पछिल्लो समय एमाले विरुद्ध खरो उत्रिएका दुर्गा प्रसाईले एमाले विरोधीको सेन्टिमेन्ट समेत पाइरहेका छन् । वर्तमान सरकार कांग्रेस नेतृत्वको गठबन्धनको हुनु र कांग्रेस नेतृत्वको गठबन्धन पनि एमाले विरुद्ध हुनुले प्रसाईको अभियानलाई फाइदा पुगेको धेरैको बुझाई छ ।

राष्ट्र, राष्ट्रियता र धर्म बचाऊका नाममा धेरै जसो एमाले विरुद्ध विष बमन गरिरहेका प्रसाईलाई केपी ओली विरोधीहरुको ऐक्यवद्धता हुने अपेक्षा छ । तर, राष्ट्रिय स्तरमा प्रसाईको कार्यक्रमलाई बौद्धिक सर्कलले खास महत्व दिएको छैन ।

दलहरुबाट सामान्य निराश भएकाहरु प्रसाईको कार्यक्रमप्रति केहि आशावादी भएको बुझिएको छ । मंसिर ७ को कार्यक्रममा सहभागी भएपछि २० लाखसम्मको ऋण चुक्ता हुन्छ कि भन्ने आशाले उक्त कार्यक्रममा समर्थन जनाउने गाउँघर देखि बजारसम्म चर्चा चलिरहेको छ ।

यता, कार्यक्रमको मिति नजिक आइसक्दा पनि काठमाडौं जान कुनै व्यवस्थापन गरिएको पाइएन । अभियानका अध्यक्ष मण्डलका सदस्य राजु पनेरुले अभियानको तर्फबाट गाडि रिजर्व गर्ने, मान्छे ओसार्ने काम नहुने बताएका छन् । उनका अनुसार प्रसाईको कार्यक्रममा सहभागिता जनाउनेहरु काठमाडौं छिर्न थालेका छन् । कति बस आउँछन् , कति मान्छे सहभागी गराउने भन्ने कुनै स्टमेट छैन, पनेरुले भने – स्वतःस्फुर्त ४-५ लाख मान्छेको सहभागिता हुने अनुमान छ । उनले झापाबाट १५ देखि २० हजार समर्थक काठमाडौं पुग्ने अपेक्षा राखेको बुझिएको छ । कार्यक्रम देशका लागि भएकाले विभिन्न दल, नागरिक समाज, संघ संगठनहरु, स्वतन्त्र नागरिकहरु, गुठी लगायतको ऐक्यवद्धता हुने अर्को अपेक्षा गरिएको पायन्छ । सो अपेक्षा पुरा भएमा ठुलो सहभागिता हुने विश्वास छ ।

युवा संघ र प्रसाईको कार्यक्रम बारे सुरक्षा अधिकारीहरुले सहभागिताको विश्लेषण समेत गरिरहेका छन् । प्रसाईको कार्यक्रममा झापाबाट बढिमा २५ सय देखि ३ हजार मान्छेहरु कार्यक्रमस्थल पुग्न सक्ने सुरक्षा अधिकारीहरुको अनुमान छ । सबैभन्दा धेरै समर्थक नै झापाबाट जाने भएकाले अन्य जिल्लासहित १२ देखि १५ हजार समर्थक काठमाडौं जान सक्ने सुरक्षाको विश्लेषण छ । प्रसाईलाई काठमाडौंमा कति नागरिकले समर्थन गर्छन् भन्ने अनुमान गरिएको छैन ।
यता, सरकार विरुद्ध खवरदारी भनिए पनि प्रसाईलाई काउन्टर गर्न युवा संघले कार्यक्रम आयोजना गरेको अधिकांशको बुझाई छ । एक व्यक्तिका विरुद्ध युवा संघ लाग्न नहुने धेरैले तर्क गरिरहेका छन् । तर, युवा संघले प्रसाईका विरुद्ध लाग्न विशाल प्रदर्शन नै गर्नु नपर्ने बताइरहेको छ । सरकारले जनताको जनजीवीकालाई ख्याल नगनेपछि खवरदारी गर्न कार्यक्रम आयोजना गरेको युवा संघले जनाएको छ ।

प्रसाईको अभियानले ४-५ लाख समर्थक उतार्ने दावी गरिरहेको बेला युवा संघले पनि सहभागितालाई व्यापक बनाउने तयारी गरिरहेको छ । युवा संघका केन्द्रीय सचिव पर्वत भण्डारीले देशभरबाट १ लाख युवा उतार्ने तयारी भएको बताएका छन् । ‘युवा संघले ४-५ लाख भन्दैन १ लाख उतारेर खवरदारी गर्नेछौं । युवा संघले नम्बरमा लाख उतार्ने होइन, १ लाख युवाहरु उतार्ने हो’ उनले थपे ।

प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]