जेष्ठ ५, २०८१ शनिबार

‘इलाम गोल्डकप’ माघमा

इलाम । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो ।

आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरीलगायत टोली सहभागी हुने भएपनि प्रतियोगितामा सहभागी हुने केही टोलीको अझै टुङ्गो लागिसकेको छैन ।
विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको जनाइएको छ ।

इलाममा यसअघि माईभ्याली गोल्डकपसमेत सञ्चालन हुँदै आएको थियो । माईभ्याली गोल्डकपसमेत फागुनमा गर्ने भनेर मिति तय भइसकेको थियो तर तत्कालका लागि माईभ्याली गोल्डकप नगर्ने बताइएको छ । पहाडी जिल्लामा छोटो समयमा दुईवटा प्रतियोगिता गर्न नसकिने भएपछि माईभ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्डकपलाई नै सहयोग गर्ने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए ।

उनै दाता, संघसंस्था तथा पुरस्कार प्रायोजन गर्नेहरु भएपछि पनि तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गरिएको हो । यसअघि फागुन २४ देखि चैत ३ गतेसम्म यही टुँडिखेलमा माईभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो । तर माईभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माईभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]