बैशाख २३, २०८१ आईतबार

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेटमा १२ टोली

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् । खेल सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकारबाट सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।

पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने बताइन्छ । एकेडेमीले खेल पर्यटनलाई आधार बनाइ उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

अध्यक्ष आचार्यले भन्नुभयो, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

एकेडेमीमा खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरुवर्ग र खेललाई माया गर्ने खेलप्रेमीहरू आबद्ध रहेको बताइन्छ ।

‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो । प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार एवं संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेे निश्चित भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]