जेष्ठ ५, २०८१ शनिबार

दलहरु जवाफदेही बनुन्

सम्पादकीय
मंसिर ७ गते काठमाडौंमा भएको दुई वटा विशाल प्रदर्शनले आम नागरिकलाई त्रसित बनाएको थियो । दुई पक्षको दुई थरी माग र एकआपसको द्वन्द्वले ठुलो दुर्घटना निम्त्याउने खतरा थियो । तर, राष्ट्रिय युवा संघको मर्यादित र शान्तिपूर्ण प्रदर्शनले समस्या आएन । सँगैमा दुर्गा प्रसाईको समूहले प्रहरीसँग झडप नै गर्यो । प्रहरीले प्रसाईको समूहमाथि अश्रुग्यास नै प्रयोग गरेको थियो । तथापि, आम नागरिकले कल्पना गरेजस्तो दुर्घटना भएन । मंसिर ७ ले मुलुकमा ठुलै दुर्घटना होला कि भन्ने संसय टरेको छ । तर, यो परिस्थितिको निर्माण हुनुको मुख्य दोषी भनेको राजनीतिक दलहरु नै हुन् ।

राजाको शासन हुँदा जनताको शासन परिकल्पना गरियो । जनताको जीवनमा परिवर्तन ल्याउने ठुलो सपना पश्चात मुलुकले गणतन्त्र प्राप्त गरेको हो । गणतन्त्रका लागि योगदान गर्नेहरु आज राजतन्त्रको माग तेर्साइरहेका छन् । ठुला दलहरु एमाले, कांग्रेस र माओवादी नै गणतन्त्र ल्याउनेहरु हुन् । त्यसपछि संविधान निर्माण भयो । संविधानले व्यवस्था गरे बमोजिम संघीयताको अभ्यास भइरहेको छ । संघीय संरचनाको अभ्यास दुई कार्यकाल नहुँदै आलोचित छ । संघीय संरचनामा बसेर जनताको सेवा गर्नेहरुले चित्त बुझ्दो काम गर्न नसकेकै हुन् । समग्रमा हेर्दा, संघीयताले निश्चित मान्छेहरुलाई फाइदा गरेको छ । आम मान्छेहरु त्यसबाट लाभान्वित हुन सकेका छैनन् ।

दलहरुले हिजोको घोषणाहरु विर्सिएका छन् । संविधानको पूर्ण कार्यान्वयन गर्न सकिएको छैन । संघीय संरचनाहरुलाई प्रभावकारी बनाइएको छैन । आर्थिक क्षेत्र डामाडोल भएको छ । देशमा अनेकौ वेथिती र विसंगतिहरु बढिरहेका छन् । यसको समाधानमा दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । व्यवस्थामाथि नै प्रहार गरेर गरिने प्रदर्शनले चुनौति थप्ने नै छ । यसैले गणतन्त्रलाई मजवुद बनाउनका लागि जनताको दुखलाई सरकारले सम्बोधन गर्नैपर्छ । दलहरुले आत्मसमीक्षा गर्नैपर्छ । अब, दुई तहको संघीयता बनाउन तिर दलहरु लाग्नुपर्छ । देशमा भइरहेका विसंगतिको अन्त्य र जनताप्रति दलहरुको जवाफदेहिता हुनुपर्छ । नभए, राजाको व्यर्थ मग गर्नेहरु बढ्दै जानेछन् ।

प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार  ११ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]