बैशाख २३, २०८१ आईतबार

झापा लिग : भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ ।

आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले हरायो । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको छ ।

खेलको १९ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गरे । त्यस्तै, खेलको ८१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरे । कनकाईका सलिन कार्कीले ८३ औँ सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुङ्गियो । खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता मालपोत अधिकृत राजु दाहालले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]