बैशाख २४, २०८१ सोमबार

लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा १६ दिने अभियान

गोमा पोख्रेल

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने गर्दछन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कहाँबाट र किन सुरु भयो भन्ने सन्दर्भमा यसको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण रहेको छ ।

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्ममता पूर्वक हत्या गरेको थियो । ती तीनै जना दिदी बहिनी राजनीतिक कार्यकर्ता थिए । उनीहरु तत्कालिन त्रुजिलो तानाशाही सरकारले गरेको अन्यायका बिरुद्धमा भएकाले उनीहरुलाई राजद्रोहको आरोप लगाई हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा भएको राजनीतिक हिंसाको रूपमा लिदैं उनीहरुको सम्मान तथा सम्झनामा यो दिवस मनाउन थालिएको हो । त्यसको तीन दशकपछि सन् १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने घोषणा गर्यो । यसपछि नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्मका दिनलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर सचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ । नेपालमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान वर्ष २०२३ मा UNITE ! INVEST TO PREVENT VIOLENCE AGAINIST WOMEN & GIRLS भन्ने अन्तराष्ट्रिय नारा तथा नेपालको राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा सहित नोभेम्बर २५ तारिख देखि डिसेम्बर १०, २०२३ अर्थात २०८० मंसिर ९ गते देखि मंसिर २४ गते सम्म १६ दिन भव्यताका साथ मनाइदै छ । यस अवसरमा महिला अधिकारका क्षेत्रमा कार्य गर्ने सरकारी, गैर सरकारी निकाय, संघसंस्था, अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसाका विरुद्ध जनचेतना विस्तार गर्दै लैङ्गिक समानता र सामाजिक न्याय कायम गराउन कानुनी एवं नीतिगत व्यवस्था परिर्वतनका लागि दबाबमूलक कार्यक्रम एवं सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दछन् ।

नेपालको संविधान २०७२ ले महिलाको हकलाई मौलिक हकको रूपमा अधिकार प्रदान गर्दै प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुने, महिला बिरुद्ध धार्मिक, सामाजिक सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन ।

यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउनेसम्मको हिंसा विरुद्धको हक प्रदान गरेको छ भने लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गर्न नपाइने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक रहने । यसैगरी राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने, महिलालाई शिक्षा स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक प्रदान गरेको छ ।

संविधानमा स्पष्ट व्यवस्था भएको समानताको हक, महिला सम्बन्धी हकलाई कार्यान्वयन गर्न तथा महिला हिंसा विरुद्धका कानूनी व्यवस्थालाई स्थापित गर्न गराउनमा हालसम्म भए गरेका यी र यस्ता अभियान, दिवस कार्यक्रम केन्द्रित भइरहेका छन् ।

महिलामाथि हुने अन्याय, अत्याचार हिंसाजस्ता मानव अधिकार विरोधी कार्यको बिरुद्ध जागरण गराउन देखि मताधिकार मागबाट सुरु भएको अधिकार प्राप्तिको लडाई समान अधिकारको खोजीसम्म आइपुग्न सयौं दशक लाग्यो । मत हाल्न पाउने अधिकार, समान कामका लागि समान ज्याला, शिक्षा लिन पाउने अधिकार, आर्थिक मूल्याङ्कन हुने उत्पादन मूलक क्षेत्रमा रोजगारीको अवसर, सम्पत्ति माथिको अधिकार, समानुपातिक समावेशी जस्ता महिला हक अधिकारसँग सम्बन्धित कानुनी, नीतिगत एवं व्यवहारिक उपलब्धी हासिल हुनमा समय समयमा हुने राष्ट्रिय तथा अन्तराष्ट्यि अभियान, सम्मेलन एवं संस्थागत प्रयासको महत्वपूर्ण योगदान रहेको छ ।

देशको मूल कानून संविधानले नै लैङ्गिक विभेद्को अन्त्य गरी समतामूलक समाजको परिकल्पना गरेता पनि पुरुष र महिला बीचको समानताको लडाई परिवारदेखि देशको राजनीतिक नेतृत्वसम्म आज पनि लडि नै रहनु परेको छ । महिला अधिकारको विषय भनौ अझ समानताको विषयलाई पुरुषसँगको प्रतिस्पर्धाका रूपमा लिइनुले यसलाई अझ बोझिलो बनाएको छ । पितृसत्तात्मक सामाजिकीकरण भएको हाम्रो समाजमा महिलालाई पुरुष सरह समान अधिकार प्रदान गर्न र निर्णायक एवं नेतृत्व तहमा महिलाको उपस्थिति स्वीकार गर्न सहज छैन ।

महिलाका लागि प्राप्त हुने अवसरसँगै चुनौती पनि साथमा रहेका छन् । मानौं त्यस चुनौतीलाई सामना गर्न नसके अवसरबाट पनि बञ्चित हुनपर्ने अवस्था रहन्छ । अधिकार मागेर पाइदैन खोसेर लिनुपर्दछ भनिन्छ तथापि समानताको खोजी कुनै उपाधिको लागि भएको प्रतिस्पर्धा नभई परिवार देखि समाज र राष्ट्रको सकारात्मक परिर्वतन हो । समानताको अधिकारबाट प्राप्त उपलब्धी महिला एक्लैका लागि सिमित रहन्न । महिलामाथि हुने हिंसाका घटनामा कमी हुनु, महिला साक्षरता वृद्धि हुनु, नेतृत्व तहमा समान सहभागिता रहनु, महिला व्यवसायिक हुनु, महिला सक्षम बन्नुले समाजलाई कुनै व्यवधान पुग्दैन बरु विकासको सूचकाङ्कमा वृद्धि मात्र नभई परिर्वतनको गतिलो उदाहरण बन्न सक्छ । यसर्थ लैङ्गिक हिंसा विरुद्ध तथा महिला हक अधिकारका पक्षमा पुरुषको सहकार्य हुन सके यसले दिगोपना प्राप्त गर्दछ ।

महिला हिसां विरुद्ध विभिन्न कानुनी, नीतिगत, संस्थागत, कार्यक्रमगत प्रयासहरु भईरहदाँ पनि नेपालको सन्दर्भमा लैङ्गिक बिभेदमा आधारित हिंसा जस्तै बलात्कार-करणी, यौन दुर्व्यवहार, शारीरिक दु्रव्यवहार, जबरजस्ती बिबाह, स्रोत साधन अवसर वा सेवाबाट बञ्चित, मानसिक दुर्व्यवहार, दाइजो प्रथा, बोक्सी, बाल बिबाह, झुमा, वादी, देउकी, छाउपडी प्रथा आदि जस्ता हिंसाका घटनाहरु भईरहेको पाइन्छ ।

हिंसाका स्वरुप बदलिदै अझ डरलाग्दा प्रकारका हिंसाहरु भई रहेको सुन्न देख्न पाइन्छ । महिलामाथि हुने कतिपय हिंसाका घटनामा महिलाहरु कै संलग्नता रहनु एकदमै दुःखदायी एवं निन्दनीय कुरा हो । धेरै जसो हिंसाको पारुप परिवार बाटै सुरु भएको पाइन्छ । यो सोच यो मनस्थिति यो दृष्टिकोण परिवर्तन नभएसम्म हिंसाका घटना निमिट्यान्न पार्ने लक्ष्य पूरा हुन सक्दैन ।

कानुनको कडाईका साथ कार्यान्वयन गरि मौलाउँदै गएको दण्डहिनताको अन्त्य गरिनुपर्छ । तब मात्र लैङ्गिक हिसांका विरुद्धमा गरिएका प्रयास सफल र सार्थक बन्न सक्दछन् । यो अभियानमा संलग्न रही लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा कार्य गर्ने तमाम संघ, संस्था, निकाय, अधिकारकर्मी प्रति सम्मान व्यक्त गर्दै लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सफलताको शुभकामना ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]