बैशाख २१, २०८१ शुक्रबार

५० हजार नगदसहित बिर्तामोडका उत्कृष्ट तीन शिक्षक पुरस्कृत

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै बिहीवार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कष्ट शिक्षक प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन् ।

उत्कृष्ट शिक्षकहरुलाई नगद ५०÷५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिए । अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै, नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई जना विद्यार्थीहरुलाई १५-१५ हजार नगदसहित पुरस्कृत गरिएको छ । महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तम्सिनालाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा ०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाई मायाको चिनोसहित विदाई गरिएको छ । विदाई हुनेहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्ण प्रसाद पाठक दुर्गा मावि, देवी प्रसाद पराजुली दुर्गा मावि, विरेन्द्र प्र. बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्र प्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्ण प्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिल कुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आ.वि, र प्रेम बहादुर लिम्बु महेन्द्रज्योती मावि रहेका छन् ।

कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बर ब. बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेश प्र. आचार्य र केशर बहादुर खवासलाई सम्मान गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने लगायतले पुरस्कृत एवम् सम्मान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले शिक्षकहरुको सम्मान नगरी उन्नति प्रगति गर्न नसकिने बताइन् । उनले नगरपालिका शिक्षा क्षेत्रको विकासका लागि सधैं सजग रहेको भन्दै शिक्षा क्षेत्रको प्रगतिका लागि शिक्षकहरुलाई उत्प्रेरणा प्रदान गर्न आवश्यक रहेको बताइन् । नगर प्रमुख प्रसाईले आगामी दिनमा नीजि र सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने बताइन् । आचरण शिक्षा प्रदान गर्न पाठ्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिइन् ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरु सीता ढुङगाना, तिला गौतम, निर्मला सुनुवार, एमाले नेता देवराज कार्की, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, विभिन्न विद्यालयका प्रअ, शिक्षक गुरुभक्त न्यौपाने, छन्दुराम भण्डारी, योगेन्द्रमण्ी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]