बैशाख २२, २०८१ शनिबार

केपी ओली कप राष्ट्रिय क्रिकेट : मधेस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

कास्की, १४ मङ्सिर : पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मधेसले ११ रनले एपिएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । मधेसले फाइनलमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई हराएर फाइनल पुगेको टोली हो ।

जीतका लागि मधेसले दिएको एक सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ८६ रन मात्र बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको एपिएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले अर्थशतक पूरा गरेपनि जीतका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट हुनुभयो भने प्रदीपले ५५ रन बनाउनुभयो । लोकेश बमले ३२, भुवन कार्की १३ र सुमित महर्जनले १३ रन बनाउनुभयो ।

बलिङतर्फ मधेसका विशाल पटेल तीन, कप्तान हरिशङ्कर शाह र प्रदीप पासवानले समान दुई÷दुई विकेट लिनुभयो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९७ रनको विशाल योगफल तयार पारेको थियो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धशतक प्रहार गर्नुभयो । शाहले ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० रन बनाउनुभयो ।

बलिङतर्फ एपिएफका मौसम ढकालले तीन, अमर रौटेलाले दुई र पुरन विकले एक विकेट लिनुभयो । प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको थियो । आर्मीले जीतका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर व्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।

बागमतीका प्रतीक श्रेष्ठले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पु¥याउन असफल हुनुभयो । यसैगरी कप्तान सन्दीप लामिछानेले १९, रीत गौतमले १४,इशान पाण्डेले १२ रन बनाउनुभयो । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिनुभयो ।

आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिनुभयो । कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाउनुभयो । बागमतीका सन्दीप लामिछानेले दुई तथा प्रतीश जिसी,इशान पाण्डे,सोनु देवकोटा रीत गौतमले समान एक÷एक विकेट लिनुभयो । सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिनुभयो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो ।

प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]