बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडमा मनमोहन अस्पतालले भित्र्यायो फोहोर जलाउने ‘इन्सिनरेटर’

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियस सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्राएको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्राएर हो ।

बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरिसकेको छ । इन्धन र विद्युत विनै सञ्चालन हुने इन्सिनरेटर जडानको काम सकिएको अस्पताल प्रशासनले जनाएको छ ।

पूर्वाधार सहित २० लाख लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्राइएको अस्पतालका सञ्चालक रोमणी भट्टराईले जानकारी दिए । कम लागतमा फोहोर व्यवस्थापन गर्न सकिने देखेर इन्सिनरेटर जडान गरिएको छ, भट्टराईले भने – यसमा फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिन्छ । १ घण्टामा १ सय केजी फोहोरलाई जलाउन सकिने बताइएको छ ।

इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहोर जलाउने र सेतो धुवा बाहिर फाल्ने जडान गर्ने कम्पनीका प्रतिनिधि रोहित विश्वासले जानकारी दिए । उनका अनुसार भारत सरकारले प्रदुषणरहित प्रविधि भनेर प्रमाणित नै गरिसकेको छ । जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदुषण नहुने धुवा मात्रै बाहिर निकाल्ने र अन्य प्रदुषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइप मार्फत बाहिर निकाल्ने जानकारी दिए ।

४५ फिट उचाई भएको इन्सिनरेटरको क्षमता प्रति घण्टा १ सय केजी जलाउने रहेको छ । २४ घण्टा सञ्चालन हुने मेसिनलाई जिरो फ्यूल इन्सिनरेटर नामले चिनिन्छ, कम्पनीका प्रतिनिधि विश्वासले भने । कम्पनीका तर्फबाट रोहित सहित गोपाल सरकार र पप्पु सरकारले काम गरिरहेका छन् ।

फोहोर जलाउनका लागि १ जना व्यक्ति भए पुग्ने उनीहरुको भनाई छ । १ सय केजी फोहोरबाट २ केजी खरानी बाहिर आउने प्रतिनिधिहरुको दावी छ । खरानीलाई खेतवारीमा प्रयोग गर्न सकिने जनाइएको छ । खरानीको ल्याव परीक्षण गरेर कृषि उत्पादनका लागि मलको रुपमा प्रयोग गर्न सकिने बुझिएको छ ।

उक्त प्रविधिको सहयोगबाट बजारको फोहोर समेत व्यवस्थापन गर्न सकिने बताइएको छ । त्यसका लागि जनप्रतिनिधिहरुको उपस्थितिमा शनिवार परीक्षण गरिदैंछ ।

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]