बैशाख २२, २०८१ शनिबार

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

नेपालगञ्ज, १६ मङ्सिर : नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् ।

“अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ”, एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भन्नुभयो । पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो र अन्तिम उपचारमा संलग्न भएपछि वास्तविक जीवनलाई बुझेको उल्लेख गर्दै उहाँले लागुऔषधको सेवन गलत रहेछ भन्ने कुरा बुझेको अनुभव सुनाउनुभयो ।

“मैले लागुऔषध प्रयोग गर्दा परिवारको माया लाग्दैनथ्यो, तर अहिले मेरो व्यवहार परिवर्तन भएपछि परिवारको र समाजको माया लाग्छ”, स्नातक तहमा अध्ययन गर्दै आउनुभएकी ती युवतीले भन्नुभयो । करिब ११ महिनादेखि यस संस्थामा रहनुभएकी उहाँले लागुऔषध प्रयोग गर्दा खानाको वास्ता नभएको तर अहिले नशा छाडेपछि आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो भएको बताउनुभयो ।

“मैले लागुऔषध प्रयोग गर्दा केही पनि सोच्न सक्दैनथे तर अहिले मेरो मानसिक स्वास्थ्य पनि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “लागुऔषध प्रयोगकर्तासँग अहिले म आफैँले जानकारी लिएर ‘इनपुट र शेयरिङ गरिरहेकी छु । मलाई के लाग्छ भने शेयरिङ सबैभन्दा उत्कृष्ट औषधि हो ।”

पाँच वर्षदेखि सञ्चालनमा आएको नवदृष्टी पुनःस्थापना केन्द्रकी संस्थापक सिमरन राजभण्डारीले आफू पनि कुनै न कुनैरुपमा लागुऔषधमा फसेको र पछि व्यवहार परिवर्तन भएपछि यस क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोचको विकास भइ महिला पुनःस्थापना केन्द्र सुरु गरिएको बताउनुभयो ।

साथीहरुको लहलहैमा लागेर आफू पनि लामो समय लागुऔषधको दुव्र्यसनमा फसेको बताउँदै उहाँले आवासीय रुपमा पुनःस्थापना केन्द्रमा बस्नुभएका महिला तथा युवतीलाई व्यवहार परिवर्तनका विषयमा सिकाइने जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न प्रत्येक विहान नियमित अभ्यास, ध्यान, आदर तथा सत्कारलगायत व्यवहारका विषयमा सिकाइनुका साथै चिकित्सकमार्फत उपचार पनि गरिने राजभण्डारीले बताउनुभयो ।

“उहाँहरुलाई महसुस हुने गरी परामर्श गरेर लागुऔषध प्रयोगकर्ता युवती तथा महिलाको व्यवहार परिवर्तन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सो संस्थामा फिजिसियन चिकित्सक, मनोपरामर्शदातासहित सात जनाको जनशक्ति कार्यरत छ । पच्चीस जनाको क्षमता रहेको पुनःस्थापना केन्द्रमा अहिले विभिन्न जिल्लाबाट आएका १९ जना युवती तथा महिला हुनुहुन्छ । तीमध्ये सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता हुनुहुुन्छ । पुनःस्थापना केन्द्रमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तु र रुपन्देहीका लागुऔषध प्रयोगकर्ता युवती तथा महिला हुनुहुन्छ । १५ देखि २५ वर्ष उमेर समूहका युवतीले ब्राउन सुगरको प्रयोग गरेको र २५ देखि ५५ वर्ष उमेर समूहका महिलाले धेरैजसो मदिरा सेवन गरेको पाइएको संस्थापक राजभण्डारीले बताउनुभयो ।

उहाँले पुनःस्थापना केन्द्रमा अवासका लागि विभिन्न प्याकेज रहेको जानकारी दिँदै तीन महिनामा खासै परिवर्तन नभए पनि छदेखि नौ महिनामा व्यवहार परिवर्तन भएको पाइएको बताउनुभयो । “कतिपय अभिभावकले यहाँ ल्याएर छोड्नुहुन्छ र सम्पर्कविहीन भइदिनुहुन्छ त्यसले हामीलाई कहिलेकाहीँ अप्ठयारो पार्छ”, उहाँले भन्नुभयो, “उहाँहरुलाई संस्थामा भित्र्याएर चिकित्सकमार्फत उपचार सुरु हुन्छ र त्यो बेला उहाँहरुको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसबेला उहाँहरुमा बेहोसजस्तो हुने र चिच्याउने, कराउनेलगायतका व्यवहार देखिन्छ ।”

पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक राशी रावलले युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यवहार परिवर्तनमा समस्या आएको उल्लेख गर्नुभयो । उहाँले मानसिक स्वास्थ्यको अवस्था राम्रो हुन कम्तीमा एक वर्षको समय लाग्ने भन्दै लागुऔषध प्रयोगकर्तालाई विगतका कुरा बिर्साउने विषयलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

नेपालगञ्जमा महिला पुनःस्थापना केन्द्र एउटा मात्रै छ । केन्द्रमा उपचार गरी पाँच वर्षमा करिब दुई सय महिला तथा युवती घर फर्किनुभएको छ भने ६० प्रतिशतको व्यवहार परिवर्तन भइ सामान्य जीवन बिताएको संस्थाको भनाइ छ ।

प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]