बैशाख २०, २०८१ बिहीबार

‘महाराजाधिराज’ लेखिएको शिलालेख दुई दिन नटिक्ने देशमा राजतन्त्र असंभव

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले जग नभएको कुनै पनि व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन् । उनले जनताले ल्याएको गणतन्त्रको जग मात्रै बलियो भएको बताए ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्र ल्याउने जग नभएको स्पष्ट पारेका छन् । नेता खरेलले राजावादीलाई राजतन्त्रको सपना नदेख्न आग्रह समेत गरेका छन् । उनले बैठकलाई सम्बोधन गर्दै भने – ‘राजा लेखिएको शिलालेख दुई दिनसम्म टिक्न सकेन, राजा ल्याउने त दिवा सपना मात्रै हो ।

शिलालेखको अक्षरमा दुई दिन टिकाउन नसक्ने राजावादीको जगले राजतन्त्र ल्याउछु भन्नु मजाक हो ।’
बैठकमा उनले एमाले प्रतिपक्षी दल भए पनि सरकारको भूमिका निर्वाह गरिरहनु परेको बताए । सरकार छ भन्ने जनतालाई महसुस छैन, एमालेले जनताको भूमिका निभाइरहेको उनको भनाई थियो ।

यस्तै, एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले एमाले विरुद्ध भएका सबैखाले घेरावन्दीको प्रतिवाद गर्न आग्रह गरेका छन् । एमाले विरुद्ध चौतर्फी घेराबन्दी छ, उनले भने – एमाले मुलुकको बलियो शक्ति भएकाले घेराबन्दी भएको हो । आगामी दिनमा एमाले विरोधीहरुलाई परास्त गरेर जानुपर्छ ।

नेता भट्टराईले एमालेको संकल्प यात्रालाई पूर्व नेपालमा भव्य बनाउनुपर्ने बताए । पश्चिमबाट भव्य रुपमा भइरहेको कार्यक्रमलाई कोशी प्रदेशबासीले थप भव्य र प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाई थियो । उनले झापाबाट हजारौं कार्यकर्ता, शुभचिन्तकले यात्रामा सहभागिता जनाउने जनाए ।

कोशी प्रदेशमा पहिचानवादीहरुले अवरोध गर्न सक्ने भन्दै उनले पार्टीको राष्ट्रिय कार्यक्रम सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । पहिचानवादीहरुले एमालेको यात्रा रोक्नु बेठिक हुन्छ, भट्टराईले भने – हामी सबैको पहिचानको पक्षमा छौं । पहिचानको नाममा कसैलाई पनि अवरोध गरेर पहिचान प्राप्त हुदैन । कोशी प्रदेशको नामाकरणको विषयमा संविधान बमोजिम हुने स्पष्ट पारे ।

बैठकमा नगर कमिटी अध्यक्ष सुवास भट्टराईले संकल्प यात्राका लागि आवश्यक तयारीका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]