जेष्ठ २६, २०८२ आईतबार

बिर्तामोडमा अव्यस्थित मदिरा व्यापार रोक्न सूझाव

बिर्तामोड । मदिराका कारण समाजमा विकृति मौलाइरहेकोले त्यसको नियमनका लागि सबैले ध्यान दिनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मदिराका कारण मौलाइरहेको विकृतिले समाज नै गलत बाटोमा गइरहेको अधिकांशको भनाई थियो ।

मदिराको नियमन तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा अधिकांशले समाजमा भइरहेका अधिकांश अपराधका घटनाको जड मद्यपान भएको बताए । आज बिर्तामोड नगरपालिका, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय, उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा भएको अन्तरक्रियामा अधिकांशले नियन्त्रण संभावना नभए पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले मदिराका कारण एउटा परिवारलाई मात्र नभई सिंगो राष्ट्रलाई क्षति भइरहेको बताइन् । उनले मदिराले एउटा व्यक्ति विग्रिदा त्यसको क्षति राष्ट्रलाई पनि हुने बताएकी हुन् । मदिराका कारण धेरै परिवारमा समस्या भएको, अपराधजन्य घटनामा वृद्धि भइरहेकोले व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उनको धारणा थियो । स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँगै आम नागरिकको सक्रियताबाट मदिराको विक्री वितरणको व्यवस्थापन गर्न सकिने स्पष्ट पारेकी छन् । उनले तत्काल विभिन्न चरणमा छलफलको कार्यक्रम आयोजना गरी कार्ययोजना बनाएर एक्शनमा जाने जानकारी दिइन् ।

जिल्ला समन्वय समिति झापाको उपप्रमुख शान्ता रोक्काले मदिराका कारण समाज अप्ठ्यारो अवस्थामा पुगेको बताइन् । मदिरा, लागुऔषधका कारण समाज विकराल अवस्थामा पुगेको छ, उनले भनिन् – कलेजका विद्यार्थीहरु ड्रेस मै लठ्ठ भएर हिडेको देख्दा दुख लाग्छ । सबैको सहकार्यबाट कुलतमा लागेकालाई सुधार गर्दै नयाँ पिढिलाई जोगाउनुपर्ने उनको धारणा थियो ।

यस्तै, अन्तरक्रियामा व्यवसायीहरु पार्वता विमली, ओमकृष्ण विमली, प्रेमा भट्टराई लगायतले इजाजत नभएकाहरुलाई विक्री गर्न नदिए व्यवस्थापनमा सहज हुने उनीहरुको भनाई थियो । बजारमा मदिरा खाएर मनपरी बोल्ने, होटलहरुमा बालबालिकाहरुलाई पनि मदिरा विक्री गर्ने लगायतका समस्या रहेको बताएका थिए । यस प्रकारका समस्याहरु समाधान गर्न अभिभावकको ठुलो भूमिका हुने धारणा राखेका थिए ।

इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्कीले आम नागरिक जवाफदेही भए धेरै सुधार ल्याउन सकिने बताए । प्रहरीको मात्रै काम हो भन्ने बुझाईका कारण समस्याहरु निराकरण गर्न सहज नभएको उनको भनाई थियो । नागरिक र प्रहरी साझेदारीमा मदिरा विक्रीको व्यवस्थापन गर्न सकिने कार्कीको धारणा थियो । विक्री वितरणको नियमन र अभिभावकलाई सचेत गराउन सके विकृति घट्ने उनले दावी गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका विश्वनाथ श्रेष्ठले नागरिकको सचेतनास्तरमा सुधार ल्याउनुपर्ने बताउँछन् । नागरिक र स्वास्थ्य संस्थाको सक्रियाताबाट मदिरजन्य विकृतिमा सुधार ल्याउन सकिने उनको भनाई थियो । उनले दुर्घटनाको मुख्य कारण नै मदिरा भएको जानकारी दिदैं मदिराकै कारण २०० बढि रोग लाग्ने बताएका थिए ।
अन्तरक्रियामा उपभोक्ता हित संरक्षण मञ्चका केन्दीय सचिव हरि प्रसाद मैनालीले बिर्तामोडको अवस्था र आगामी कार्ययोजनाका बारेमा प्रष्ट्याएका थिए । उनले मदिराको व्यापार सम्बन्धी अध्ययन बारे जानकारी गराउदैं बिर्तामोडमा अस्तव्यस्त रहेको जानकारी गराए ।

अध्ययन अनुसार बिर्तामोडमा ३० प्रतिशत व्यापारीले मात्रै मदिरा व्यापारको इजाजत लिएको जानकारी दिए । नगरपालिकामा २० र अन्यत्र ८० प्रतिशत मात्रै दर्ता भएको उनको भनाई थियो ।

कानुन विपरित ६० प्रतिशतले मदिरा व्यापार गरिरहेको अध्ययनले देखाएको छ । मदिरा खरिद गर्नेको विवरण, सचेतना सामग्री राख्नेको संख्या शून्य रहेको मैनालीले जानकारी दिए । बिर्तामोडका ३४ प्रतिशत किराना पसलमा मदिराको बोर्ड पाइएको बताए । सबै होटलले मदिराकै बोर्ड झुण्ड्याएको जानकारी गराएका थिए ।

उनले १८ वर्षमुनीका बालबालिकालाई मदिरा विक्रीमा रोक लगाउदै सबैले मदिरा व्यवसायमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सोहि क्रममा उनले ०८०–८५ का लागि प्रस्तावित कार्ययोजना समेत प्रस्तुत गरेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य याम विमलीले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]