बैशाख २२, २०८१ शनिबार

गौरादहका जनप्रतिनिधि आफ्नो मुल्याङकन गर्न गाउँगाउँमा

बिर्तामोड । झापा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु गाउँ पसेका छन् । मंसिर १३ गतेदेखि ३० गतेसम्म भेटघाटको तालिका नै बनाएर गाउँ पसिरहेका जनप्रतिनिधिहरु जनगुनासो सुन्दै आफ्नो मुल्याङकन पनि गरिरहेका छन् ।

भेटघाटको क्रममा हरेक वडा वडामा नगरपालिकाले नगरको विकास निर्माण र भावी योजना तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया आयोजना गरिरहेको छ । त्यस क्रममा नगरवासीको गुनासो सुन्ने, सूझाव लिने र आगामी योजना निर्माणका लागि योजनाबारे छलफल गरिदैछ ।

हरेक वडामा २÷२ दिन अन्तरक्रिया आयोजा गर्दै सुरु गरिएको भेटघाट कार्यक्रम विहीवार ५ नं. वडाको चप्रामारी र बालुवथानमा सम्पन्न गरिएको नगर उपप्रमुख जलवर्षा राजवंशीले जानकारी दिइन् । उनले ९ नं वडाबाट उक्त अभियानको थालनी भएको बताइन् । उनका अनुसार यहि अभियानमा जोडर लैंगिक हिंसा विरुद्धको कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा गरिएको बाचा पुरा गर्ने मार्गमा छौ कि छैनौं, राजवंशीले भनिन् – त्यसको अध्ययन गर्न यो अभियानले ठुलो सहयोग मिल्ने विश्वास छ । स्थानीय सरकारसँग नागरिकको अपेक्षा अनुसार काम गर्न सफल भए, नभएको बुझ्न पनि अन्तक्रियाले मद्दत गरिरहेको उनको बुझाई छ । यो कार्यक्रमले हामीलाई ठिक बाटो हिडाउन सहयोग हुनेछ, राजवंशीले भनिन् – नगरवासीलाई गाउँगाउँमा पुगेर भेटघाट गर्दा स्थानीय सरकार विरुद्धका भ्रम चिर्न पनि मौका मिलेको छ ।

स्थानीय सरकारले कर वृद्धि गरेको, अवैज्ञानिक कर प्रणाली लागू गरेको भन्दै भ्रम छर्ने काम भएकाले त्यस सम्बन्धमा यथार्थ बुझाउने काम पनि भइरहेको उनको भनाई छ ।

गाउँघरसम्म भेटघाट गर्दै जाँदा भौतिक पूर्वाधारको समस्या, शिक्षामा गर्नुपर्ने सुधार, स्वास्थ्य सेवा, नदि कटानका समस्या लगायतका विषय नगरवासीले उठाइरहेका छन् । स्थानीय तहले सीप प्रदान गरेर रोजगारीको व्यवस्था गर्दै जनजीवन माथि उठाउनुपर्ने विषयहरु पनि उत्तिकै उठिरहेको छ । भूमि वर्गीकरणका आधारमा कर लागु गरिए पनि कतिपयले त्यसका विरुद्ध भ्रम सिर्जना गरेको भन्दै बुझाउने काम समेत गरिदैंछ ।

नगरवासीको हरेक समस्याहरु सम्बोधन गर्न अभियान प्रभावकारी हुने उनीहरुको भनाई छ । आगामी दिनको प्राथमिकता पनि यसै अभियानले निक्र्यौल गर्ने जनप्रतिनिधिहरु बताउँछन् । धेरै ठाउँमा प्रशासनिक काममा अत्याधिक दुख पाएकोले त्यसलाई सुधार गर्नुपर्ने धारणा पनि आएका छन् ।

भेटघाट अभियानमा नगरवासीले उठाएका सवालहरुमा नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजवंशी, विषयगत समितिका प्रमुखहरु, वडाध्यक्ष एवम् अन्य जनप्रतिनिधिहरु जवाफ दिइरहेका छन् । यो अभियानले भावी योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]