बैशाख २३, २०८१ आईतबार

बिर्तामोडमा पशु तथा मत्स्य पालन र दुग्ध उत्पादनमा किसान उत्साहित

बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले गरिरहेको पशुपालना, मत्स्य पालन र दुग्ध उत्पादनको अनुगमन गरिएको छ । आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालसहित सञ्चारकर्मीहरुले अनुगमन गरेका हुन् ।

पशुपंक्षी तथा मत्स्य विकास शाखाले गरिरहेको काम र त्यसको प्रगति बारे किसानको घरघरमा पुगेर अनुगमन गरिएको हो । पशुपंक्षी शाखा प्रमुख सावित्रा दाहालले बिर्तामोड नगरपालिकामा पशुपालनको अवस्था धेरै माथि उठेको जानकारी दिइन् । उनले उत्पादनको अवस्थमा उल्लेख्य सुधार भएपनि किसानहरु अझै बजारीकरणको मारमा परेको बताइन् । उनले अनुगमनका क्रममा पशुपंक्षी विकास शाखा मार्फत सञ्चालित कार्यक्रमहरु बारे जानकारी दिएकी थिइन् । उनका अनुसार बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, मत्स्य विकासका लागि माछा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मेयर पकेट कार्यक्रममा बाख्रा र बंगुर साटासाट कार्यक्रम प्रभावकारी बनेको छ । यस्तै, बाख्रा प्रवद्र्धन कार्यक्रममा किसानहरु सन्तुष्ट भएको बताउँछन् । मत्स्य प्रवद्र्धन कार्यक्रममा जोडिएका किसानहरुले पनि नगरको सहयोगले सहज भएको प्रतिक्रिया दिए ।

नगर प्रमुख प्रसाईले गाउँमा बेरोजगारीको अन्त्य गर्न कृषि क्षेत्र प्रभावकारी हुने बताएकी छन् । उनले बाख्रा साटासाट कार्यक्रमले गाउँमा महिलाहरुलाई परिवारको आर्थिक जीवन सुधारमा ठुलो सहयोग पुगेको जानकारी दिइन् । स–सानो खर्च अभाव हुने महिलाहरुले यतिवेला शिक्षा, स्वास्थ्य, पाहुना र चाडवाड खर्च धान्न थालेका छन् । वार्षिक रुपमा उनीहरुले करोडौं रुपैयाँको उन्नत जातको बाख्रा विक्री गरिरहेका छन् ।

यस्तै, किसानहरुले गाउँमै नगरबाट चिलिङभ्याट प्राप्त गरेपछि दुग्ध उत्पादनमा प्रोत्साहन भएको बताएका छन् । गाई पाल्न छोडेका किसानहरुले फेरि सुरु गरेको बुझिएको छ । ५० प्रतिशत अनुदानमा चिलिङभ्याट पाएपछि दुग्ध किसानहरु खुशी भएका छन् । दुध संकलनमा सहज भए पनि डीडीसीले रकम भुक्तानी नगर्दा किसान समस्यामा परेका छन् । साउन यताको दूधको पैसा नपाएको किसानको गुनासो छ ।

बिर्तामोड २ मा माछा पालन गरिरहेका नगेन्द्र खरेलले नगरको सहयोगका कारण पलायन हुनु नपरेको बताएका छन् । उनले विभिन्न समस्याहरुका कारण पलायन हुने अवस्थाबाट नगरले जोगाएको बताए । क्षेत्र विस्तार, यान्त्रिकरण र भुरा वितरण गरेर नगरपालिकाले माछा पालक किसानलाई सहयोग गरिरहेका छ । खरेलका अनुसार नगरपालिकाले भारतबाट आयात हुने मरेका माछामा प्रतिवन्ध लगाउदा स्थानीय किसानलाई राहत मिलेको छ । २१० मा विक्री भइरहेको माछा २३० देखि २४० रुपैयाँसम्म विक्री भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]