माघ ८, २०८१ मंगलबार

चिहान खन्ने धम्की नदिए हुन्छ, एमाले आफ्नो सुरक्षा गर्न सक्षम छ : शिव ढुङ्गेल

झापा । नेकपा एमालेका सचिव शिव ढुङ्गेलले एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियानमा अवरोधको प्रयत्न नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

एमालेको संकल्प अभियानलाई प्रभावित पार्ने गरी कोशी प्रदेशमा पहिचानवादीको नाममा आह्वान गरिएको बन्दलाई लक्षित गर्दै ढुङ्गेलले सो आग्रह गर्नुभएको हो । आफूलाई पहिचानवादी बताउनेहरूले कोशीमा एमालेलाई प्रवेश गर्न नदिने र प्रवेश गरे घुर्मीमा चिहान खन्ने अभिव्यक्त दिएका थिए ।

‘मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा केही शक्तिले बिथोल्ने कुरा सार्वजनिक गरिरहेका छन्, संविधान प्रदत्त अधिकारको विपक्षमा, जनताले बलिदान गरेर प्राप्त गरेको लोकतान्त्रिक अधिकारको विपक्षमा जनताको अधिकार प्रतिकूल हुने गरी अभिव्यक्ति दिइरहेका छन्, सार्वजनिक रूपमा मान्छे मार्ने, चिहान बनाइ दिने अभिव्यक्त गरिरहँदा अहिले सरकार मूकदर्शक बनेर हेरिरहेको छ’, उहाँले भन्नुभयो ।

संवैधानिक अधिकारको रक्षा गर्न र आफ्नो कार्यक्रम सञ्चालन गर्न र आफ्नो रक्षा गर्न एमाले सक्षम रहेको उहाँले प्रष्ट पार्नुभयो । यस्तो अभिव्यक्ति दिनेलाई सरकार के गर्छ भन्ने एमालेको प्रश्न रहेको उहाँले आग्रह गर्नुभयो । ‘आफ्नो सुरक्षा गर्न सक्छ, आन्दोलनलाई मञ्जिलसम्म पुर्‍याउन एमाले सक्षम छ’, उहाँले भन्नुभयो ।

सरकारको यस्तै गतिविधि रह्यो भने यो कार्यक्रम सकिएपछि नेकपा एमाले वर्तमान सरकारको विकल्प खोज्ने उहाँले बताउनुभयो । यही व्यवस्था भित्रैबाट सरकारको विकल्प खोजिने उहाँले प्रष्ट पार्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]