बैशाख २४, २०८१ सोमबार

बिर्तामोडमा मरेका माछा प्रतिबन्ध गरेपछि किसानलाई राहत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले गत वर्षदेखि अखाद्य भारतीय माछा प्रतिवन्ध गरेको थियो । नगरको सो निर्णयपछि बिर्तामोडका माछा पसलहरुमा मरेका माछाहरु खरिद गर्न पाइदैन । मरेको माछा नियन्त्रणमा नगरपालिका आक्रामक रुपमा लागेपछि व्यापारीहरु खुलेयाम विक्री गर्न सकिरहेका छैनन् ।

स्थानीय किसानले उत्पादन गरेको माछा विक्री नहुने, भारतबाट मरेका माछा ल्याएर विक्री गर्ने व्यापारीहरुको सिण्डिकेट नगरपालिकाले तोडेको छ । स्थानीय माछा किसानहरु भन्छन्, खुलेयाम विक्री बन्द भएको छ । तर, भित्रभित्र व्यापारीहरु गिरोह प्रयोग गरेर रातारात होटल पुराइरहेका छन् । उपभोक्तामा चेतना नहुँदा मरेका माछा खान छोडेका छैनन् ।

बिर्तामोड नगरपालिकाले मरेका माछा विक्री भएको थाहा पाउन साथ कारवाही गर्ने गरेको छ । यहाँका व्यापारीहरुले बिर्तामोड बाहिर पसल सञ्चालनमा ल्याएर मरेका माछाहरु रातको समयमा विक्री गरेको धेरैको आरोप छ ।
बिर्तामोड २ का माछा पालक किसान नगेन्द्र खरेलले नगरपालिकाले मरेका भारतीय माछा प्रतिवन्ध गरेदेखि व्यापारमा समस्या लगभग हटेको जानकारी दिए । त्यसअघि माछा नविकेर लगानी समेत डुवाउनु परेको खरेल स्मरण गर्छन् । उनले मरेका माछाको व्यापार रोकिएपछि स्थानीय माछाले भाऊ समेत पाएको बताए ।

कोशी प्रदेशमा सबैभन्दा कडाई गर्ने बिर्तामोड नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै मरेका माछा नियन्त्रण गरेको हो । स्थानीय किसानले समेत मरेका माछा नियन्त्रण गर्नुपर्ने माग राखेका थिए । सोही अनुसार नगरपालिकाले मरेका भारतीय माछा नियन्त्रणमा कडाई गरेको हो ।

बिर्तामोडस्थित इष्टर्न फिस फर्मका सञ्चालक मोहन शिवाकोटीले स्थानीय किसान आशावादी हुने अवस्थामा पुगेको जानकारी दिए । उनले मरेको माछा आयातमा ५० प्रतिशत रोकिएको बताए । खुलेयाम विक्री नभए पनि ठुलै गिरोह रातारात माछा होटल पुराइरहेका छन्, उनले भने, –विना भन्सार आयात गरिएको माछा होटलवालाले पनि सस्तो मुल्यमा पाउने भएपछि भित्रभित्र व्यापार गरिदैछ ।

झापा जिल्लाकै माग धान्न सक्ने गरी यहाँ माछा उत्पादन भइरहेको नेपाल मत्स्य व्यवसायी संघ कोशीका उपाध्यक्ष समेत रहेका शिवाकोटीको जानकारी दिए । उनका अनुसार करिव ५ सय पोखरीमा स्थानीय किसानले माछा पालन गरिरहेका छन् । सबै जातका माछा व्यापारीहरुलाई उपलब्ध गराइरहेको उनको भनाई छ ।

शिवाकोटीले छिमेकी जिल्ला मोरङ, सुनसरीमा पनि नियन्त्रणको काम भइरहेको बताए । मरेका भारतीय अखाद्य माछा नियन्त्रणमा प्रहरी प्रशासनको ठुलो सहयोग आवश्यक रहेको उनी बताउँछन् ।

झापाको कचनकवल र झापा गाउँपालिका क्षेत्रबाट अहिले पनि मरेका माछा आयात भइरहेको जानकारी दिए । त्यसको नियन्त्रण गर्न किसानले पालिकाहरुसँग माग गरेका छन् ।

बिर्तामोडका किसानले मेची मत्स्य व्यवसायी संघ स्थापना गरेर कृषिथोकमा माछा विक्री गरिरहेका छन् । किसानको माछा विक्रीमा संघले सहयोग गरिरहेको छ । किसानले संघ मार्फत दैनिक ५-६ सय केजी माछा विक्री गरिरहेका छन् ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतिवन्धित माछा आयात गरे कडाभन्दा कडा कारबाही हुने बताइन् । नागरिकको स्वाथ्यप्रति संवेदनशिल भई अखाद्य माछा नियन्त्रण गरिएको उनको भनाई छ । गत वर्षदेखि गरिएको प्रतिवन्ध पूर्ण रुपमा सफल बनाउने प्रसाईको प्रतिक्रिया छ । नगरको उक्त निर्णयपछि उपभोक्ता समेत खुशी छन् ।

प्रकाशित मिति : मंसिर २४, २०८० आईतबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]