जेष्ठ ४, २०८१ शुक्रबार

प्रतिपक्षीसँग पहिचानवादीको लडाई

सम्पादकीय
नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ । देशभर बृहत सहभागितासहित शान्तिपूर्ण यात्रा गरिरहेको टोली पाँचथरको चुवाभञ्ज्याङ पनि शान्तिपूर्ण ढंगबाट पुग्नुपर्छ । झुलाघाटबाट चुवाभञ्ज्याङसम्मको यात्रामा कहिकतै अवरोध भएन । पुष्पलाल लोकमार्गबाट यात्रा गरिरहेको एमालेलाई कोशी प्रदेशमा अवरोध गर्ने प्रयासहरु भइरहेका छन् । खासगरी एमाले विरुद्ध उभिएका मोर्चाहरु पहिचानको नाममा अवाञ्छित गतिविधि गर्ने मुडमा छन् । त्यसले शान्तिपूर्ण यात्रामा चुनौति आइलाग्न सक्छ । त्यस तर्फ सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्छ ।

स्वतन्त्र एवम् विना अवरोध राजनीतिक कार्यक्रम आयोजना गर्न पाउने सबै दल संघसंगठनहरुलाई छुट छ । संवैधानिक अधिकारमाथि कसैले अवरोध गर्न मिल्दैन । कोशी प्रदेशको नामाकरणपछि पहिचानका नाममा एमाले विरुद्ध पटक–पटक आइलाग्ने काम भइरहेको छ । यो राजनीतिक संस्कार होइन । एउटा राजनीतिक संगठन जनताको बीचमा जाँदै गर्दा अवरोध गर्ने, चिहान खनेको छ भन्दै तर्साउने काम गर्नु अराजकता हो । एउटा सानो शक्तिले राष्ट्रियव्यापी शक्ति भएको दललाई धम्क्याउनु आफैमा गलत छ । एमाले अहिले प्रतिपक्षी दल हो । सत्तासँग माग गर्नुपर्ने विषय प्रतिपक्षीसँग मागेर पुरा हुन असंभव छ ।

कोशी प्रदेश नामाकरणमा एमालेसहित कांग्रेस, माओवादीसहितका दलहरुले सहमति गरेर काम गरेका हुन् । कोशी प्रदेश नामाकरणमा सर्वपक्षीय सहमति भएको हो । सबैले एकमतका साथ कोशीलाई पारित गरेका हुन् । तर, त्यसबाट खुट्टा कमाएर कांग्रेस माओवादी पछि हटिसके । एउटा प्रदेशको नामका सन्दर्भमा समेत खुट्टा कमाउनु जस्तो ठुलो अस्थिरता अर्को केहि हुन सक्दैन । संविधान बमोजिम नाम राखिएको हो । अब, संविधान बमोजिम नै परिवर्तन गर्नुपर्छ । त्यसका कारण एमाले विरुद्ध खनिनुको अर्थ छैन । एमालेले संविधान बमोजिम काम नगरेको खण्डमा खवरदारी गर्नैपर्छ । तर, पूर्वाग्रह साध्नकै लागि अभियानमा अवरोध गर्ने कुरा गर्नु अराजनीतिक, अराजकता बाहेक केहि होइन । यसैले पहिचानवादीले अभियानलाई सहयोग गर्नैपर्छ । शान्तिपूर्ण रुपमा अभियान सम्पन्न गर्न सहयोग गर्नैपर्छ ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  ११ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]