जेष्ठ १, २०८२ बुधबार

पहिचान पक्षधर चौधरीसहितका नेताहरुलाई रिहा गर्न माग

झापा । नेपाल आदिवासी जनजाति महासंघ लगायतका पहिचान पक्षधर संस्थाहरुले पक्राउ परेका पाण्डवलाल चौधरीलगायतका नेता कार्यकर्ताहरुको रिहाईको माग गरेका छन् ।

ती संस्थाहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै झापाबाट चौेधरी र खोटाङबाट गोपाल किराती लगायतका नेताहरुलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा–८ स्थित घरबाटै राति प्रहरीले पक्राउ गरेको बताइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको घटनालाई लिएर चौधरीसहित निशान राई, बिजय थापा र शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पहिचान पक्षधर सबै अभियन्ताको शीघ्र रिहाइ नभए देशब्यापी आन्दोलन गर्ने ती संस्थाहरुले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेवा देय दबूका सचिव मचाराजा महर्जन, किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, तमू ह्यूल छोंज धिंका उपाध्यक्ष आरबी तमू, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, कुमाल समाज नेपालका उपाध्यक्ष श्रुती कुमाल र भुजेल सेवा समाजका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेलले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]