बैशाख २१, २०८१ शुक्रबार

झापाको डिल्लीराज माविमा पस्यो अख्तियार, प्रअ गुप्ता विरुद्ध स्थानीय एकजुट

झापा । झापामा केहि वर्षदेखि गुमनाम बनेका विवादित प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता फेरि चर्चामा आएका छन् । अर्जुनधारा ६ को लक्ष्मी माविमा कार्यरत रहँदा चर्चामा रहेका गुप्ता दक्षिणी सीमामा रहेको डिल्लीराज मावि पुगेपछि गुमनाम बनेका थिए । तर, अख्तियारमा फेरि उनी विरुद्ध उजुरी परेको छ । अख्तियारको पत्रसँगै गुप्ता फेरि चर्चामा आएका छन् ।

लक्ष्मी माविमा उनले विद्यालय प्रशासनमा मनपरी गरेको, अपारदर्शी आर्थिक कारोवार गरेको र शिक्षक–शिक्षक बीचमा विवाद गरेको घटनाले उनलाई लक्ष्मी माविबाट विदा गरिएको थियो । अझै पनि उनले लक्ष्मी माविको हिसाव चुक्ता गरिसकेका छैनन् ।

शिक्षा क्षेत्रमा ‘पेशेवर भ्रष्ट’ व्यक्तित्वको पहिचान बनाइरहेका गुप्तामाथि फेरि डिल्लीराज माविका सरोकारवाला उनीसँग हिसाव खोजिरहेका छन् । केहि वर्षदेखिको श्रृङखला हेर्दा जहाँ पुग्छन् गुप्ता, त्यहाँ पुग्नैपर्छ अख्तियार जस्तो भएको छ । विद्यालय सञ्चालनमा अपारदर्शी व्यवहारका कारण गुप्तालाई फेरि लक्ष्मी माविकै जस्तो समस्या दोहोरिएको छ ।

स्थानीयले अख्तियारमा उजुरी गरेर छानविनको माग गरेका छन् । अख्तियारको इटहरी कार्यालयले छानविनका लागि झापा गाउँपालिकालाई पत्र समेत पठाइसकेको छ । गाउँपालिकाले पनि छानविनको काम प्रारम्भ गरिसकेको जनाएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकालले अख्तियारको पत्र बमोजिम काम सुरु भइसकेको जानकारी दिए । उनले गाउँपालिकालाई दिएको जिम्मेवारी अनुसार स्थलगत अध्ययन सुरु भइसकेको बताएका छन् । अख्तियारले अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा छानविन गरि प्रतिवेदन बुझाउन भनेको थियो ।

झापा गाउँपालिकाको उपाध्यक्ष अञ्जु थपलियाले अख्तियारको पत्र अनुसार छानविन हुने र त्यसमा कसैको हस्तक्षेप नहुने बताइन् । हामीलाई छानविनको जिम्मेवारी दिएको छ, उनले भनिन् – ‘दुधको दुध पानीको पानी छुट्याउन सहयोग हुनेछ ।’ प्रतिवेदन पश्चात बाँकी काम अख्तियारले गर्ने उनको भनाई छ । डिल्लीराज माविको घटनाले फेरि विवादमा तानिएका प्रअ गुप्ता विरुद्ध स्थानीय नागरिक समेत एकजुट भइसकेका छन् । उपाध्यक्ष थपलियाले पब्लिक समेत जागिसेककोले यहाँ कसैले ढाकछेप गर्न नसक्ने प्रतिक्रिया दिइन् ।

प्रअ गुप्ताको कारण विद्यालय क्षेत्रमा प्रत्येक दिन तनाव बढ्दै गइरहेको शिक्षकहरुको प्रतिक्रिया छ । गुप्ताको कारोवार अत्यन्तै अपारदर्शी भएको शिक्षकहरुको आरोप छ । कतिपय शिक्षकले गुप्ता विद्यालय रहेसम्म आर्थिक क्षेत्र कहिल्यै सुधार नहुने दावी गरेका छन् । सामाजिक सञ्जालहरुमा समेत गुप्ता विरुद्ध विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

विद्यार्थीहरुले समेत गुप्ताका कारण विभिन्न खेलकुद प्रतिगोगिताहरुमा सहभागी हुन नपाएको गुनासो गरेका छन् ।
केहि दिनअघि अख्तियारले पत्र पठाए पश्चात गुप्ताले सामाजिक लेखा परीक्षण नगरी सिधैं लेखा परीक्षणको तयारी गरेका थिए । तर, सो घटना थाहा हुन साथ गाउँपालिकाले गुप्तालाई रोकेको थियो ।

डिल्लीराज माध्यमिक विद्यालयका प्रअ समेतको मिलेमतोमा विद्यार्थीहरु अनुपस्थित भएता पनि दैनिक हाजिर खातामा हाजिर गरी रकम भुक्तानी लिइरहेको भन्ने समेतको सम्बन्धमा के कसो भएको भए गरेको हो ? उक्त उल्लेखित विषयहरुको सम्बन्धमा अधिकृत स्तरसहितको कर्मचारीबाट स्थलगतरुपमा छानबिन गरि अनिवार्य रुपमा राय प्रतिक्रिया सहितको प्रतिवेदन लगायतका प्रमाणित कागजातहरु समेत १५ दिनभित्र अनिवार्य उपलब्ध गराइदिन गाउँपालिकालाई मंसिर २४ को निर्णयानुसार अनुरोध गरेको छ ।

अख्तियारमा निवेदकले डिल्लीराज माविका विषयमा १६ बुँदे उजुरी हालेको बुझिएको छ । विरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापक भएपछि विद्यालय पूर्ण रुपमा अपारदर्शी ढंगबाट सञ्चालन भएको उजुरीमा उल्लेख छ । उनी ०७६÷७७ देखि त्यहाँ कार्यरत छन् ।

बालबिकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत प्रअ गुप्ताकी पत्नी ज्योती कुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिन पनि स्वयम् प्रधानाध्यापकले किर्ते हाजिरी गरेर पदीय दुरुपयोग गरेको ,बजार मूल्य भन्दा महंगो मुल्यको बिल भौचर तयार गरेर विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स, बेन्च,पंखा,पोडियम,इन्टरएक्टिभ बोर्ड, प्रोजेक्टर, स्मार्टबोर्ड, सिसिटिभी क्यामेरा, टेबल, कार्पेट, सोफा, सेनिटाइजर,फिल्टर, ट्वाइलेटका सामानमा अनावश्यक रुपमा भ्रस्टचार गरेको लगायतका १६ बुँदे उजुरी दायर गरिएको छ । प्रधानाध्यापक गुप्ताले विद्यालयका प्राय सबै गतिविधि ,प्रशासनिक काममा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले अख्तियारमा गरिएको उजुरीका विषयमा छानबिनमा पुर्ण सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : पुष ३, २०८० मंगलबार  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]