बैशाख २२, २०८१ शनिबार

शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाउने तयारी

शिवसताक्षी । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी जानकारी गराइएको हो ।

भोलि पौष ५ गतेदेखि ११ गतेसम्म चासोक तङ्नाम पर्व सहित सांस्कृतिक मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक शिव शेर्माले जानकारी दिए ।

उनले सँधै झै यस वर्ष अलि बृहत रुपमा कार्यक्रमको आयोजना गरिएको बताए । उनको अनुसार भोलि दिउँसो ३ बजे नगरप्रमुख मेगाहाङ्ग थोप्राले चासोक तङ्नामको तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने छन् ।
सांस्कृति कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी, जातिय नृत्य, स्थानीय कलाकार र राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यस्तै कायक्रम सम्पन्न गर्न १२ लाख लाग्ने अनुमान गरिएको आयोजक समितिका सचिव दुर्गा चेम्जोङ्गले जानकारी दिए । स्थानीय संघ संस्था र सहयोगी दाताहरुको रकमबाट कार्यक्रम सम्पन्न गर्ने उनले बताए । कार्यक्रमबाट संकलिन रकमबाट चासोक पुजा गर्ने स्थानलाई व्यवस्थित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

चासोक तङ्नाम लिम्बु जातिको पर्वको रुपमा मात्र नभई यो सबै जात जाति भाषा धर्मलम्बीहरुले साझा सहभागितामा मनाउने चाड भएको वडा नं. १ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ्गले बताए । उनले सञ्चारकर्मीहरुलाई कार्यक्रम सफल बनाउन सहयोग भूमिका खेल्न समेत आग्रह गरे ।

चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

आयोजक समितिका सल्लाहकार सदस्य तथा समाज सेवी चन्द्रविर नेम्वाङ्गले लिम्बु जातिको लोप हुने अवस्थामा पुगेको संस्कृतिलाई पछिल्लो पुस्ताले यस्ता कार्यक्रमहरु जागरण ल्याउन काम गरेको बताए ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिने उनको भनाई थियो ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे। यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेला) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइ दिएको किम्बदन्ती रहेको छ ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको समाज सेवी दुर्गा नेम्वाङ्गले बताए ।

उनले लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैँयु फुलेको छ । यसरी पैँयु फुलेको समयलाई लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने हार्मा पुर्खाहरुले भनाई रहेको जानकारी दिए ।

मेला सञ्चालनका लागि पेमा तामाङ्गको संयोकत्वमा समिति गठन गरिएको सचिव दुर्गा चेम्जोङ्गले बताए ।
चासोक तङनाम नेपालको झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा विभिन्न कार्यक्रम मनाउने गर्दछन् ।

प्रकाशित मिति : पुष ४, २०८० बुधबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]