बैशाख २२, २०८१ शनिबार

झापा क्षेत्र नम्बर २ का किसानलाई चिनिया प्राविधिकले सहयोग गर्ने

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नम्बर २ का किसानलाई सहयोग गर्न चिनिया प्राविधिकको टोली आएको छ । पशुपालन र मत्स्य पालनमा आवद्व किसानलाई प्राविधिक सहयोग गर्न उनीहरु यहाँ आएका हुन् ।

काठमाण्डौस्थित चिनियाँ राजदुतावासका कर्मचारी चाउ थाउसहित साउथ एशिया सेन्टर फर साउथ–साउथ कोअपरेसन फर पोभर्टी एलिभेसनमार्फत उनीहरु झापा आएको जनाइएको छ ।

कृषि विज्ञहरुले बुधबार बिर्तामोड नगरपालिका वडा नम्बर ६,७ र ८ का कृषकहरुसँग अन्तरक्रिया गरेका छन् । उनीहरुले कृषकहरुले भोग्नु परेको समस्याका बारेमा जिज्ञासा राख्नुका साथै वडा नम्बर ७ मा रहेको बासुकी बहुउदेश्य कृषि फर्म (गाई पालन) र महालक्ष्मी कृषि फर्म (मत्स्य पालन) को स्थलगत अवलोकन गरेको वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा मत्स्य पालन र दुग्ध उत्पादनमा आवद्ध किसानलाई सहयोग गर्ने प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । क्षेत्र नम्बर २ लाई ६ वटा क्लस्टरमा बाँडेर काम गरिने नेकपा एमालेका निर्वाचन क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराईले जानकारी दिनुभयो । उक्त क्लस्टरहरुमा बिर्तामोडको वडा नम्बर २,३ र ९ एउटा, ६,७ र ८ एउटा, अर्जुनधारा ८,९,१० र ११ एउटा, अर्जुनधारा १,२,३,४,७ एउटा, कनकाई ८,९ र अर्जुनधारा ५ लाई एउटा क्लस्टरमा विभाजन गरिएको छ । पाइलट प्रोजेक्टको रुपमा स्थानीय बीउलाई प्रबर्धन गरिने बताइएको छ ।

क्रमशः उनीहरुले धान, बाँस, मासु, सुपारी, फलफुल खेतीमा समेत सहयोग गर्ने संयोजक भट्टराईले जानकारी दिनुभयो ।
अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष ५, २०८० बिहीबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]