जेष्ठ ४, २०८१ शुक्रबार

ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बढे

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ७ गते । ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने ह्वात्तै बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को पछिल्लो पाँच महिनामा दर्ता भएका मुद्दाको सङ्ख्यामध्ये ५४ प्रतिशत सम्बन्ध विच्छेदका रहेको छ । चालू आवको पाँच महिना अर्थात् साउनदेखि मङ्सिर मसान्त सम्ममा जिल्ला अदालतमा एक सय ३८ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाको उक्त सङ्ख्यामध्ये ७५ थान मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी रहेको ताप्लेजुङ जिल्ला अदालतका स्रेस्तेदार मनोज बरालले जानकारी दिनुभयो ।

स्रेस्तेदार बरालका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका एक सय ४० थानमध्ये ४१ थान मुद्दा सम्बन्ध विच्छेदका थिए । गत आवमा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये करिब ४४ प्रतिशत सम्बन्ध विच्छेदको रहेको थियो । सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको निरन्तरता रहेसँगै गत आवको तुलनामा चालू आवमा ह्वात्तै बढेको पाइएको स्रेस्तेदार बरालले जानकारी दिनुभयो ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा पारिवारिक बेमेल साथै वैदेशिक रोजगारजस्ता कारण रहेको पाइएको पनि जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतको तथ्याङ्कअनुसार चालू आवको हालको अवस्था कायम रहेमा आवको अन्त्य सम्ममा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको सङ्ख्या बढेर जाने देखिएको छ । यता चालू आवमा दर्ता भएकामध्ये हालसम्म करिब ३५ प्रतिशत मुद्दाको फर्छ्योट भएको पनि पनि जिल्ला अदालतले जनाएको छ । नयाँ दर्ता र पुरानो गरी मुद्दाको सङ्ख्या दुई सय ७८ भएकोमा हालसम्म ९६ थान मुद्दाको फर्छ्योट भएको छ । गोरखापत्रमा प्रकाशित

प्रकाशित मिति : पुष ७, २०८० शनिबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]