बैशाख २०, २०८१ बिहीबार

युवाहरू देशमा नबस्नु सबैभन्दा ठूलो चुनौती : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताउनुभएको छ ।

पार्टीले मंसिर १८ देखि पुस १ गतेसम्म गरेको झुलाघाट–चिवाभञ्याङ संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो – ’मध्यपहाडमा सम्भावना धेरै छ, तर सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने, युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।’

युवाहरुको संख्या अलि कमै देखिएको उहाँले बताउनुभयो । मानिसहरुमा आशाबादिता रहेको अध्यक्ष ओलीले बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतामा आशा जगाउने काम गरेको उहाँले बताउनुभयो ।

यात्राका क्रममा आफ्ना धारणाहरु राख्दा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कुरा गर्दा जनता आकर्षित भएको अध्यक्ष ओलीले बताउनुभयो ।

एमालेका नेता–कार्यकर्ता मात्र नभएर अरु पार्टीका नेता–कार्यकर्ता, संघ–संस्था र बौद्धिक जगत संकल्प यात्रासँग आकर्षित र विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।

सर्वदलीय बैठक राखेर सर्वसम्मत र सर्वदलीय बैठक बसेर सुझाव दिने काम पनि भएको अध्यक्ष ओलीले बताउनुभयो । विकासका लागि सुझाव र पीरमर्का राख्नुभएको बताउनुभयो ।

कतिपय ठाउँमा सरकारी दमन देखिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – ’सरकारी दमन पनि चर्काेगरीनै रहेछ, सरकारी पक्षपात भेदभाव र दमन, विपक्षी पार्टी भनेपछि काम गरेर पनि बाँच्न नसक्ने खालको स्थिति रहेछ कतिपय ठाउँमा, राज्यसत्ताको दुरुपयोग गरेको देखियो, हुन त काठमाडौंमै प्रोफेसरको ढाड भाचिन्छ, सरकारले मुद्दा फिर्ता लिन्छ, अरु अपराधी तत्वका मुद्दा फिर्ता लिन्छ, काठमाडौंमा प्रबुद्ध समाजको अगाडि त यस्तो हुन्छ भने झन् दूरराजको स्थिति कस्तो होला ?’

मागपत्रहरुबारे अध्ययन भइरहेको भन्दै उहाँले त्यसपछि तत् सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]