बैशाख २०, २०८१ बिहीबार

अझै बुझाएनन् विवादित प्रअ गुप्ताले लक्ष्मी माविको २८ लाख ६९ हजार रकम

बिर्तामोड । फेरि विवादमा आएका झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले यसअघि काम गरेको विद्यालयको हरहिसाव अझै बुझाएका छैनन् । उनले अर्जुनधारा – ६ मा रहेको लक्ष्मी माविको हिसाव नबुझाई सरुवा मिलाएर डिल्लीराज मावि गएका थिए ।

समुदायले नै गुप्तालाई लक्ष्मी माविबाट विदा गर्नुपर्ने, हरहिसाव सार्वजनिक गर्नुपर्ने माग गरेपछि त्यसबेला सरुवा मिलाएर डिल्लीराज पुगेका थिए । अहिले डिल्लीराजमा पनि अपारदर्शी ढंगबाट विद्यालय सञ्चालन गरेको आरोपमा अख्तिायरमा उजुरी परेको छ । अख्तियारले गाउँपालिकालाई अध्ययन गरेर प्रतिवेदन पठाउन पत्रिपत्र गरेको छ । परिपत्र अनुसार गाउँपालिकाले विद्यालयको अध्ययन गरिरहेको छ ।

२०७६ साल साउनमा लक्ष्मी मावि छोडेर डिल्लीराजमा सरुवा भएका गुप्ताले हिसाव नमिलाई गएका थिए । लक्ष्मी माविमा आउने नयाँ प्रअ निर्मला पोख्रेललाई विद्यालयको हरहिसाव बुरबझारथ नगरी गएका हुन् । प्रअ पोख्रेलले तत्कालिन प्रअ गुप्ताले हिसाव नबुझाएको स्वीकार गरिन् ।

प्रअ गुप्ताले लक्ष्मी मावि छोड्दै गर्दा विद्यालयको अडिट पछि रमाना लिने भन्दै मौखिक सहमति गरेको प्रअ पोख्रेलको भनाई छ । विद्यालयको अडिटपछि आफुले बुझाउनु पर्ने भए कागजातका आधारमा बुझाउने लिखित नै गरेको लक्ष्मी माविकी प्रअ पोख्रेलले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको गठनपछि लक्ष्मी माविले लेखापरीक्षण गरेको थियो । आर्थिक वर्ष २०७५-०७६ को लेखा परीक्षण प्रतिवेदनमा तत्कालिन प्रअ गुप्ताको नाममा २८ लाख ६९ हजार १०६ रुपैयाँ ९६ पैसा बेरुजु देखिएको थियो । लक्ष्मी माविकी प्रअ पोख्रेलले आर्थिक वर्ष ०७८-७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार हालसम्म गुप्ताबाट सो रकम असुल उपर नभएको जानकारी दिइन् ।

लेखापरीक्षणपछि आफ्नो नाममा आउने रकम बुझाउने भनेका गुप्ताले त्यसपछि विभिन्न बहानाबाजी गर्दै विद्यालयलाई रकम बुझाउन अटेर गरेका छन् । विद्यालयले सो रकम बुझाउन भन्दै पटक–पटक चिठी बुझाइएको थियो । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु आफै गुप्तालाई चिठी पुराउन जाँदा बुझ्न नमानेको, बुझ्दा पनि जवाफ नफर्काएको घटना पनि छन् ।

सोही विषयलाई लिएर गुप्ता विरुद्ध अख्तियारमा उजुरी समेत परेको थियो । उजुरीका आधारमा अख्तियारले अर्जुनधारा नगरपालिकालाई आवश्यक कारवाहीका लागि भन्दै पत्र लेखेको थियो । अख्तियारको पत्रपछि नगरपालिकाले विद्यालयको कागजात झिकाएको थियो । विद्यालयले गुप्ताबाट असुलउपर गर्नुपर्ने रकम विवरण खुलाइएको कागजात, लेखापरीक्षण प्रतिवेदन, पर्याप्त प्रमाण भएका कागजात नगरपालिकालाई बुझाएको थियो । तर, सो फाइल नगरापलिकाबाट गायव भयो । अख्तियारमा फेरि उजुरी परेपछि सो कागजतासहितको फाइल नगरपालिकाले मागेको छ । प्रअ पोख्रेलले नगरलाई फाइल बुझाईसकेको जानकारी दिइन् ।

यता, व्यवस्थापन समितिले भर्खरै निर्णय गरेर गुप्ताबाट असुलउपर गर्नुपर्ने रकमका लागि पत्र लेख्न निर्णय गरिसकेको छ । अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन समेतमा असुलउपरका लागि फाइल बुझाइसकेको विद्यालयले प्रभावकारी किसिमको दवाव आवश्यक ठानेको छ ।

प्रअ पोख्रेलका अनुसार गुप्ताले एक पटक ०७७ फागुन २ गते विद्यालयलाई बरबुझारथ सम्बन्धमा भन्दै पत्र पठाएका थिए । उनले सो पत्रमा विभिन्न अनावश्यक भाषा शैली प्रयोग गरेर रकम बुझाउछु भन्नुको सट्टा पुनःअडिटको माग गरेको बताइन् । पुनःअडिट भनेर विद्यालयको रकम नतिर्ने बहाना खोजेको हुन सक्ने पोख्रेलको अनुमान छ । उनले एउटा संस्थाको रकममा यो हदसम्मको लापबारही गर्नु गुप्ताको गैरजिम्मेवारीपन भएको बताइन् ।

अर्जुनधारा –६ का वडाध्यक्ष हरिश बाँस्तोलाले लक्ष्मी माविका पूर्व प्रअले बुझाउनुपर्ने रकम बुझाउनै पर्ने बताए । रकम बुझाउन कुनै बहानाबाजी नगर्न आग्रह गरेका छन् । प्रअ गुप्ताले विद्यालयको हिसाव नबुझाई जानु नै ठुलो त्रुटि भएको वडाध्यक्षको भनाई छ । उनले तत्काल लेखापरीक्षणमा देखिए अनुसारको विद्यालयको रकम बुझाउ आग्रह गरेका छन् ।

लक्ष्मी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले गुप्ताबाट असुलउपर गर्नका लागि आवश्यक प्रक्रियाको काम अघि बढाउन निर्णय भइसकेको जानकारी दिए । उनले आफ्नो कार्यकाल अघि कै हिसाव भएकाले धेरै जानकारी नभए पनि पछिल्लो घटनाक्रमबाट थाहा पाएको बताए । विद्यालयलाई बुझाउनुपर्ने रकम कसैले कुनै पनि बहानामा बुझाउदिन भन्न नपाइने उनको भनाई छ । राईले पूर्व प्रअको नाममा रहेको बेरुजु रकम असुलउपर गर्ने बताएका छन् ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]