बैशाख २०, २०८१ बिहीबार

३२ लाख बजेट ल्याएर पनि प्रअ गुप्ताले नबनाएको भवन

बिर्तामोड । अर्जुनधारा–६ स्थित लक्ष्मी माविको पश्चिम भागमा वर्षौदेखि एउटा संरचना अलपत्र अवस्थामा छ । अलपत्र संरचना पुरा गर्न नसक्दा विद्यालयको स्वरुप नै विरक्त लाग्दो बनेको छ । विद्यालय प्रवेश गर्ने वित्तिकै देखिने सो संरचना अलपत्र हुनुको मुख्य कारण भनेको तत्कालिन प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता रहेको अधिकांश सरोकारवालाको भनाई छ ।

झापा गाउँपालिकाको डिल्लीराज माविमा पनि अहिले विवादमा आएका गुप्ता प्रअ भएकै समयमा भवन निर्माण सुरु गरिएको थियो । सो संरचना चारकोठे कक्षा कोठाका लागि निर्माण सुरु गरिएको थियो । तत्कालिन जिल्ला शिक्षा कार्यालयको बजेटबाट क्रमागत हुने गरी निर्माण सुरु भएको विद्यालय भवनका लागि ३२ लाख बजेट आएको देखिन्छ । आर्थिक वर्ष ०७३-७४ मा १८ लाख र त्यसपछि आर्थिक वर्ष ०७४-७५ मा १४ लाख आएको विद्यालय प्रशासनले जनाएको छ । तर, दुवै वर्षको बजेटबाट भवन निर्माण सम्पन्न हुन सकेन ।

जिल्ला शिक्षाले भवन निर्माण सम्पन्न भएकै आधारमा भुक्तानी दिएको बुझिन्छ । तर, बजेट सकिए पनि भवन बन्न सकेन । पिलर उठाएर छोडिएको अलपत्र संरचनाले पूर्णता नपाउँदा राज्यको लगानी वेवारिसे बनिरहेको छ ।
लक्ष्मी माविकी प्रधानाध्यापक निर्मला पोखरेलले अलपत्र भवन पुरा गर्न नपाएकोमा दुख व्यक्त गरेकी छन् । उनले अलपत्र रहेको सो भवनका लागि ३२ लाख विद्यालयले प्राप्त गरे पनि निर्माण सम्पन्न नभएको बताइन् । उनले आफु विद्यालय आउनुभन्दा पहिले नै बजेट आएको र पिलर उठाउने काम भएको जानकारी दिईन् ।

भवन अलपत्र भएपछि त्यसको बजेटबारे विद्यालय व्यवस्थापन समितिले चासो देखाएको छ । यसअघिको विद्यालय व्यवस्थापन समितिले अर्जुनधारा नगरपालिकाबाट प्राविधिक ल्याएर खर्च स्टमेट निकालेको प्रअ पोख्रेलको भनाई छ । ३२ लाखको भवनमा ९ लाख खर्च भएको प्राविधिकहरुले प्रतिवेदन बुझाएका छन् ।

भवन निर्माणको शिर्षकमा आएको बजेट सकिएको देखिन्छ, प्रअ पोख्रेलले भनिन् – ९ लाख खर्च भएको जानकारी आयो । खर्चका सन्दर्भमा अन्य कागजातहरु हेर्न सकिन्छ ।

लक्ष्मी माविका अन्य शिक्षकले भवन बनाएको प्रतिवेदन पेश गरेर बजेट निकासा गरिएको अनुमान गरेका छन् । त्यसको हरहिसाव तत्कालिन शिक्षा कार्यालयबाट ल्याउन सकिने विद्यालयले जनाएको छ ।
प्राप्त बजेटबाट भवन निर्माण नहुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समेत कठिनाई भइरहेको छ । गुप्ता प्रअ भएकै समयमा जिल्ला शिक्षामा समेत लक्ष्मी माविको १८ लाख बेरुजु भएको पाइएको छ ।

प्रकाशित मिति : पुष १०, २०८० मंगलबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]