जेष्ठ ४, २०८१ शुक्रबार

कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जामा फोहोर वर्गीकरण सुरु

बिर्तामोड । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ ।

बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रवारदेखि सुरु गरेको हो । सेग्रीगेसन परिक्षणका रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परीक्षण कार्यको उद्घाटन गर्नु भएको थियो ।

यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने पेवर्स, ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ । अबको एक महिना देखि डेढ महिनाभित्रमा त्यो मेसिन पनि जडान हुने भएकाले तीनै वटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलिले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताउनुभयो । फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरबासीलाई आग्रह गर्नुभयो । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोर मात्रै प्लाण्टमा गईरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

यस्तै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले क्रमागतरुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगेको बताउनु भयो । उहाँले पनि तीन वटै पालिकाबाट सेग्रीगेसन गरिएको फोहोर ल्याउनुपर्नेमा जोड दिँदै स्रोतमै वर्गीकरण गर्न सबैलाई आग्रह गर्नुभयो ।

सेग्रीगेसन मेसिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदन गोपाल सुव्वाले जानकारी दिनुभयो । सेग्रीगेसन परीक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कम्पनीका वोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दीगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा निर्माण गरिएको छ ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]