जेष्ठ ४, २०८१ शुक्रबार

मेलो बिग्रिएको मेचीनगर

सम्पादकीय 
झापाको मेचीनगरमा मेयरमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भयो । नगरका हाकिमले मेयरमाथि दुव्र्यवहार भएको घटनाले त्यहाँको माहोल अहिले तातिएको छ । त्यसअघि हाकिममाथि दुव्र्यवहार भएको गाइगुई पनि सुनियो । को माथि कसले दुव्र्यवहार गरेको हो ? अनुसन्धानबाट अवश्य सार्वजनिक हुने नै छ । प्रशासनभित्र कसैले पनि अनुशासन भन्दा बाहिर जान मिल्दैन । जिम्मेवार व्यक्तिले आफ्नो सीमाभन्दा बाहिर जाने कुरै भएन । जसले त्यो सीमा नाघेर काम गर्छ, त्यहि मेचीनगरको समस्या हो । त्यसको समाधान नगरबासीले खोज्नैपर्छ ।

मेचीनगरले लामो समयदेखि विभिन्न किसिमका तनाव व्यहोर्दै आएको छ । त्यसमा पनि नदीजन्य सामग्री उत्खनन्को विषय सधैं विवादको जड बनेको छ । नगरपालिकाले कानुन बमोजिम ठेक्का लगाउने र ठेक्का पाउने कम्पनीहरुले नियम बमोजिम उत्खनन् गर्ने हो भने विवाद सधैंका लागि समाधान हुन्छ । तर, मेचीनगरका नदीजन्य सामग्री उत्खनन्को भित्रिया समस्या के हो ? यसमा सधैं नगरले बद्नामी सहनुपर्ने बाध्यता के छ ? यसको सुक्ष्म अध्ययनको खाँचो भएको छ । सधैंको तनावले आम नागरिकको सेवा प्रवाहमा समेत समस्या भइरहेको छ ।

ठेक्का लिने कम्पनीहरुले नगरका कर्मचारी नेतृत्वका कारण यस प्रकारको समस्या आएको धारणा व्यक्त गरिरहेका छन् । तर, कर्मचारीको हातबाट मात्रै काम रोकिने होइन । निर्णयकर्ता भनेको कार्यपालिका हो । जब, कार्यपालिका कामका लागि तयार छ भने कर्मचारीले अल्झाउनुपर्ने कुनै कारण छैन । मेचीनगरमा अघिल्लो कार्यकाल पनि नागरिकले सन्तोष जनाउन सकेनन् । अहिले पनि उस्तै छ । सधैं समस्याहरुबाट घेरिएको मेचीनगरलाई आम नगरबासीको कामका लागि मुक्त बनाउन जरुरी देखिन्छ । मेलो नमिलिरहेको नगरमा जनप्रतिनिधि, कर्मचारीमा जवाफदेहिताको अभाव खड्किएको छ । उत्तरदायी ढंगबाट नगरलाई नेतृत्व गर्न जरुरी देखिएको छ । जनप्रतिनिधिलाई मेयर र कर्मचारीहरुलाई हाकिमले मेलोमा हिडाउन सके सधैंको लागि समस्या समाधान हुने थियो ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]