जेष्ठ ४, २०८१ शुक्रबार

दर्शक नबनौं, प्रहरीलाई खवर गरौं

सम्पादकीय
एकसाता अघि बिर्तामोडको देवी मावि उत्तर भागमा रहेको सुब्बा चोकमा विद्यार्थीहरुबीच ठुलै झगडा भइरहेको थियो । मावि तहमा अध्ययनरत एक विद्यार्थीलाई अन्य ७÷८ विद्यार्थीहरुले लडाई–लडाई कुटिरहेका थिए । कुटाई खाने विद्यार्थीले आफ्नै साथीहरुले कुटेको प्रत्यक्षदर्शीलाई बताएका थिए । बाटोमा ओहोर दोहोर गर्ने, कुटपिटको घटनालाई प्रत्यक्ष रुपमा देख्नेहरुले उनीहरुलाई छुट्टाउन सकेनन् । नत, प्रहरीलाई खवर नै गरिदिए । त्यस्तै घटना मंगलवार फेरि दोहोरियो । देवी स्कुल नजिकै दुई समूहमा विभाजित विद्यार्थीहरुबीच कुटाकुट भइरह्यो । प्रहरीले त्यत्रो झगडा हुँदा पनि थाहा पाएन । प्रहरीलाई कसैले खवर पनि गरेनन् वा प्रहरी खवर भएर पनि नपुगेको हो ? त्यो बुझ्नैपर्छ ।

कनकाई कलेजका विद्यार्थीसँग बदला लिन आएका युवा विद्यार्थीहरु अन्ततः आफै खुकुरीसहित पक्राउ परे । गाडिभित्र बसेका उनीहरुलाई अन्य युवा विद्यार्थीले गाडिमै कुटपिटको प्रयास गरिरहेका थिए । तर, यात्रुको कारण त्यो ठाउँमा ठुलो झगडा हुन सकेन । खुकुरीसहित झगडा गर्न आएका युवाहरुलाई यदि बाहिर निकालिएको थियो भने त्यहाँ ठुलै दुर्घटना हुन सक्थ्यो । त्यो बेलासम्म प्रहरीलाई कसैले खवर गरेन । भद्रपुर स्टेण्डको सो घटना बारे निकैबेरपछि प्रहरीले जानकारी पाएको हुनुपर्छ । तर, तत्काल प्रहरी घटनास्थल पुगेका कारण दुर्घटना हुनबाट जोगाइएको देखिन्छ ।

यि दुई घटनाले विद्यार्थीहरुबीचको एकता, मित्रता नभएको अनुभूति गराएको छ । विद्यालय प्रशासनले पनि विद्यार्थीबीचको समस्या पहिचान गरेर समाधान गर्न सहयोग गर्नुपर्छ । बिर्तामोडको व्यस्त बजारमा यस किसिमको झैझगडा हुनुले सुरक्षामाथि पनि प्रश्न उठेको छ । प्रहरीले बजार क्षेत्रमा बाक्लो गस्ती गर्नुपर्ने देखिन्छ । मानिसहरुको भीडभाड हुने क्षेत्रहरुमा सुरक्षा प्रवन्ध पनि मिलाइनुपर्छ । बस स्टेण्डहरुमा सुरक्षा निगरानी गर्न अपरिहार्य छ । अब, प्रहरीलाई मात्र जिम्मेवारी सुम्पिएर हुदैन । नागरिकको दायित्व पनि उत्तिकै छ । कुनै पनि घटना भएको देखेमा तत्काल प्रहरीलाई खवर गर्नुपर्छ । क्षति कम हुनका लागि सुरक्षा अपनाउनैपर्छ । त्यसका लागि बिर्तामोड मात्र होइन, सबै क्षेत्रमा अनिवार्य प्रहरीसँग सम्पर्क, समन्वय हुनुपर्छ । झगडाको सवाल मात्र होइन, यहाँ आगलागी, सवारी दुर्घटना, चोरी डकैती, लुटपाट, ठगी सबै खाले घटनामा सुरक्षा निकायलाई तत्काल जानकारी दिनुपर्छ ।

प्रकाशित मिति : पुष १८, २०८० बुधबार  ११ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]