बैशाख २३, २०८१ आईतबार

नक्कली नम्बर प्लेटका सवारी मेची भन्सार बुझाइयो

झापा । झापा प्रहरीले नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्याङ्कन तोकेर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ । चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर जिल्ला विभिन्न स्थानमा चलिरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको थियो । प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो ।

त्यस्तै भद्रपुर लगायतका राजमार्गका विभिन्न स्थानबाट मे २ प १६५७ नम्बरको अपाची, को १३ प ३१५२ नम्बरको पल्सर, को ६ प ४५७८ नम्बरको पल्सर, मे ६ प १७७३ नम्बरको सुपर स्प्लेण्डर, मे ७ प ७०३४ नम्बरको पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाम दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि भन्सार बुझाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

प्रकाशित मिति : पुष २०, २०८० शुक्रबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]