बैशाख २०, २०८१ बिहीबार

मेनुकालाई आत्मवल दिऊ

सम्पादकीय
छिमेकी राष्ट्र भारतमा प्रख्यात रियालिटी सो इन्डियन आइडल धुमधाम चलिरहेको छ । एकसे एक गायन प्रस्तुत गरिहरेको त्यो भारतीय मञ्चमा नेपाली चेली मेनुका पौडेलले सबैको ध्यान खिच्न सफल भइरहेकी छन् । झापाकी मेनुका पौडेलले भारत मात्र होइन, सिङ्गो गीत संगितको दुनियाँ माझ आफुलाई परिचित गराउन सफल भएकी छन् । भारतको प्रख्यात शोमा भाग लिएर दमदार गायन प्रस्तुत गरिरहेकी पौडेल अन्तिम ११ मा पर्न सफल भएकी छन् । नेपालको कला क्षमता प्रस्फुटन गरिरहेकी उनलाई उर्जा प्रदान गर्नेबेला आएको छ ।

भारतीय रियालिटी सो इन्डियन आइडलमा पौडेलका हरेक प्रस्तुतिको उच्च मुल्याङकन भइरहेको छ । उनै मेनुकाले भारतको मञ्चमा गीत प्रस्तुत गरेको देखेर सालार फिल्म एउटा गीत गाउने अवसर पाएकी छन् । दृष्टिविहीन गायिका पौडेलले भारतको गीत संगित दुनियाँमा धमाका मच्चाइरहदा पनि नेपालमा भने सुनसान छ । मेनुका पौडेल आफ्नै क्षमताले त्यहाँको मञ्चमा संघर्ष गरिरहेकी छन् । त्यसैले नेपाली चेलीलाई थप उर्जा प्रदान गर्नका लागि यहाँ अभियान सञ्चालन गर्नुपर्छ । अन्तिम ११ मा पौडेल भोटका आधारमा ‘बटम– ४’ परेको समाचार आएको छ । यसैले उनको ब्राण्डिङका लागि पनि समर्थनका कार्यक्रम बनाउनै पर्ने देखिन्छ ।

नेपाली मुलका प्रशान्त तामाङ इन्डियन आइडल–३ मा प्रतिष्पर्धा गर्दैगर्दा नेपालमा छुट्टै माहोल बनेको थियो । भारतीय मञ्चमा नेपाली मुलको एउटा युवा उभिदै गर्दा गौरव भएको थियो । अहिले पनि पौडेको हरेक प्रस्तुतिले नेपालीहरुको छाती गौरवले फुलेको छ । अब, उनको समर्थनका रचनात्मक कार्यक्रम गर्नुपर्ने देखिन्छ । यहाँका सबैजसो क्षेत्रले पौडेलका पक्षमा माहोल बनाउनुपर्छ । मेनुकाको गाउँदेखि शहर, जिल्लामा उनको गायनीहरु प्रस्तुत गरेर उनको इन्डियन आइडलको यात्रामा आत्मवल प्रदान गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : पुष २४, २०८० मंगलबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]