बैशाख २१, २०८१ शुक्रबार

झापामा न्याय माग्ने बुहारीको नामै हरायो

– प्रदीप परियार 

बिर्तामोड । झापामा श्रीमानको व्यवहारले घरबार विहीन बनेकी एक महिलाले न्याय माग्दा थप अन्यायमा परेकी छन् । न्यायका लागि परिवारसँग गुहार माग्दामाग्दै ति महिला बुहारीको विवरणबाटै अलग हुनुपरेको एउटा घटना सार्वजनिक भएको छ ।

पीडित कल्पना विष्टले ताप्लेजुङमा ०६५ मंसिर २९ गते सिनामका कमल भण्डारीसँग विवाह गरेकी हुन् । सामाजिक परम्परा अनुसार नै विवाह गरेका उनीहरुले ०६५ पुस ४ गते विवाह दर्ता गराएका थिए । विवाहको १५ वर्षपछि बुहारी कल्पनाको नाम पारिवारिक विवरणबाटै गायव भएको छ । मेचीनथर ३ ले दिएको बसाईसराई दर्ता प्रमाणपत्रमा पीडित बुहारीको नाम भेटिएको छैन ।

श्रीमानले बिर्तामोडमा आफन्तको घरमा छोडेर हिडेको ७ वर्षमा उनले दोस्रो श्रीमति ल्याएको थाहा पाइन् । तीन वर्षअघिसम्म कुराकानी भइरहेको थियो, कल्पनाले भनिन् – विवाह नै गरिसक्नु भएछ । बच्चा पनि भइसकेको रहेछन् । । श्रीमान कमाएर घर फेर्कलान् भन्ने आशामा छोरा हुर्काउदै बसेकी उनले आफैमाथि सौता परेको केहि महिनाअघि मात्रै थाहा पाइन् ।

घर परिवारमा समेत कसैले थाहा नपाएको बताउने कल्पनाले सासु ससुराबाट पनि आफुलाई जानकारी नभएको बताइन् । श्रीमानले अर्को विवाह गरेको थाहा पाएपछि उनले १३ वर्षीय छोराको भविष्य सुरक्षित गर्न तर्फ सोच बनाएको सुनाइन् । उनले बुद्धशान्ति – ५ बस्दै आएको परिवारमा पुगेर श्रीमानले आफुमाथि अन्याय गरेको भन्दै परिवारमा सामान्य व्यवस्थापनका लागि आग्रह गरेकी थिइन् । बिर्तामोडमा गार्मेन्टमा काम गर्दै छोरा हुर्काई, पढाई गरिरहेकी उनले श्रीमान झापा आएको मौका छोपेर गाउँ समाज गुहारिन् । उनीमाथिको अन्याय वडाको सामुदायिक मेलमिलापसम्म पुगेको थियो ।

०८० साउन १ गते ससुरा तेज बहादुर भण्डारीले पीडित बुहारी कल्पना र जनप्रतिनिधि, वुद्धिजीवीहरुको रोहवरमा इटाले बारेको, जस्ताको छाना भएको २ कोठे घर नाति, बुहारीको भागमा पर्ने जमिनमा बनाइदिने भन्दै लिखितम गरेको भेटिएको छ । उक्त लिखितममा मेचीनगर–३ का वडाध्यक्ष हर्क बहादुर बस्नेतले मेलमिलापकर्ता मनोरथ काफ्ले,पुष्प गुरागाई, गाइत्री पौडेलसहित, ४ जना भद्रभलादमीले हस्ताक्षर गरेका थिए ।

ताप्लेजुङबाट इरौटार हुँदै मेचीनगर– ३ बसेको भण्डारी परिवार बुद्धशान्ति ५ मा बसाइसराई आएका छन् । बसाई बुद्धशान्ति भए पनि कागजात मेचीनगरकै थियो । साउन १ गते घर बनाइदिने कागज गरेका ससुरा तेज बहादुरले त्यसको दुई हप्तापछि कागज पनि बुद्धशान्ति तिरै सारे । भण्डारी परिवार इलामको रोङ इरौटारबाट ०७३ मंसिर २० गते मेचीनगर ३ बसाई आएको कागजात छ । उक्त बसाईसराईको कागज ०७४ साउन २४ गते दर्ता भएको थियो ।

कागजतमा मेचीनगर आउँदा ७ जनाको पारिवारिक विवरण भेटियो । त्यसमा कल्पनाको नाम बुहारी भनेर उल्लेख छ ।
तर, भण्डारी परिवारले ०८० साउन १८ गते बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बाट लिएको बसाईसराई दर्ता प्रमाणपत्रमा कल्पना र उनको छोरा धिरेन भण्डारीको नाम भेटिदैन । छोरा कमलको बसाईसराई प्रमाणपत्रमा नाम उल्लेख भए पनि नाति, बुहारीको नाम उल्लेख नभएको प्रमाण भेटिएको छ ।

श्रीमानले अर्को श्रीमति ल्याएको पीडामा परेकी कल्पनाले ससुराबुबाले आफ्नो नाम नै हटाएर अन्याय माथि थप अन्याय गरेको बताइन् । मेरो नाम हटाएर साउन १ को सहमतिबाट पन्छिने प्रयास गरेको हुन सक्छ, कल्पनाले भनिन् – बसाईसराई कागजातमा मेरो नाम कसरी छुट्यो, बसाई आएको मान्छे जाने बेला कसरी छुट्छ ?
वडा कार्यालयले बसाईसराई दिँदा नाम हटाएर दिन नमिल्ने उनको तर्क छ । पहिले बुहारी उल्लेख भएको कागजता मेचीनगर ३ सँग थियो, अहिले कसरी हट्यो ? उनले यस तर्फ सबै न्यायकर्मीलाई सहयोगको माग समेत गरेकी छन् । अहिले श्रीमान सम्पर्कमा पनि नभएको जानकारी दिएकी छन् ।

साउन १ को सहमति अनुसार आफुले न्याय पाउनुपर्ने उनको अडान छ । यता, ससुरा तेज बहादुरले जवरजस्ती सहमति जनाउन बाध्य बनाएको प्रतिक्रिया दिए । उनका अनुसार पर्याप्त कुराकानी नभई सहमति जनाउनु परेको थियो । उनले साक्षीहरु समक्ष ल्याप्चे लगाइसकेका छन् । ससुराले बुहारी कल्पना ११-१२ वर्षदेखि सम्पर्कमा नरहेको बताएका छन् । बसाईको कागज ल्याउने बेला बुहारीको कुनै प्रमाण आफुसँग नभएकाले छुटेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले सहमति अनुसार काम गर्नु परे पनि छोराले नै गर्ने बताए । छोरा कहाँ छ भन्न सक्दिन, उनले थपे – ‘भारततिर बसेको हुनुपर्छ । केके गर्ने हो छोराले नै गर्नेछ ।’

मेचीनगर –३ का वडा सचिव मानबहादुर पराजुलीले सूचकले दिएको विवरण अनुसार नै कागजात बनाएको जानकारी दिए । उनले प्रमाणसहित आएमा बसाईसराईको कागजमा नाम समावेश गरिदिने बताए । वडा सचिव पराजुलीले परिवारमा कोको छ आफुलाई थाहा नहुने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : पुष २५, २०८० बुधबार  १२ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]