बैशाख २६, २०८१ बुधबार

शिवसताक्षीका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधीकरण तालिम

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो ।

शिवसताक्षीको दुधेमा सञ्चालित तीन दिवसीय तालिमको आज समापन गरिएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरका कक्षा ४ देखि १० सम्म अध्यापन गराउने सामाजिक, नेपाली, अङ्ग्रेजी र गणित र विज्ञान विषयको शिक्षकहरुलाई प्रबोधिकरण गराइएको हो ।

तालिममा कक्षा ४ र ५ का १, ६ ७ र ८ बाट १ र ९ र १० बाट ४ गरेर १०५ शिक्षक शिक्षिकालाई चार समूहमा विभाजन गरी तीन दिनसम्म प्रवोधिकरण गराइएको शिवसताक्षी नगरपालिकाको शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।

तालिममा सहभागी शिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रमाण पत्र वितरणका क्रममा बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले समाजको अग्रणी भूमिकाका रुपमा र सम्मानित, मर्यादित पेशाका रुपमा शिक्षण पेशा रहेको बताए । उनले नगरका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुका कारण नै आज विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुँदै गएको जानकारी दिए ।

नगरका केही तल्लो भेगका आदिबासी समुदायका छोरा छोरीहरु आर्थिक अवस्था र पारिवारिक अवस्थाका कारण पनि पढाईमा सुधार हुन गाह्रो महशुष भएको उनले बताए । उनीहरुसँग पर्याप्त शैक्षिक सामाग्री नहुने, अभिभावकहरुले विहान बेलुका छोरा छोरीहरुको पढाईमा निगरानी नगरिदिदा पनि अपेक्षा अनुसार विद्याथीले प्रगति गर्न गाह्रो भएको नगर प्रमुख थोप्राले जानकारी दिए । शैक्षिक गुणस्तर सुधारका नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई थियो ।

तालिममा सहभागीहरुको तर्फबाट बोल्दै शिक्षक लिला गेलालले समय समयमा यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको मनोविज्ञान बुझी अध्यापन गराउन सहज हुने बताइन् । कार्यक्रम प्रभावकारी भएको छ । उनले भनिन्, कार्यक्रम गर्दै जाँदा केही कमी कमजोरी भएको महशुष भएको छ । आगामी कार्यक्रमहरुमा सुधारको अपेक्षा राखेको बताइन् ।
त्यस्तै शिक्षक विष्णुप्रसाद खतिवडाले शिक्षाको गुणस्तर बृद्धिको लागि शिक्षक नै धेरै जिम्मेवार हुनु पर्ने बताए । विद्यार्थीले अधिकांश समय विद्यालयमा विताउने भएकाले हामीले कस्तो र कसरी अध्यापन गराइरहेका छौ । त्यो पनि मूल्यांकन गर्नु पर्ने जानकारी दिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख छविलाल ढकालले शिक्षक शिक्षिकाले पेसागत अभिवृद्धि, भाषा विकास र प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम प्रभावकारी बनाउन बनाउनका लागि तालिम दिइएको बताए । यसले शिक्षक शिक्षक बीच शिक्षण सिकाईको विषयमा छलफल र शिक्षण सिकाईका क्रममा आएका समस्याहरुको समाधानका लागि यो तालिमले सहज पुर्याउने अपेक्षा गरिएको उनको भनाई थियो ।

विषय विज्ञ शिक्षकहरू श्री प्रसाद खरेल, रमेश कुमार दाहाल, फडिन्द्र चेम्जोङ, हरी प्रसाद तिम्सिना र कमल भट्टराईले परिवर्तित पाठ्यक्रमका विषयमा शिक्षक शिक्षिकालाई प्रबोधिकरण गराएका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी सरोज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : पुष २६, २०८० बिहीबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]