बैशाख १७, २०८१ सोमबार

प्रअ गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकको माग

बिर्तामोड । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकले माग गरेको छ । गत बिहीवार भएको सर्वदलीय बैठकको निर्णय गाउँपालिकामा कार्यवहाक अध्यक्षलाई बुझाउदै प्रअ गुप्तालाई तत्काल निलम्बन गर्न माग गरिएको छ ।

४ वर्षदेखि विद्यालयको सामाजिक लेखा परीक्षण नगरेको, अन्य भौतिक निर्माण तथा प्रशासनिक खर्चको पारदर्शी हिसाव नआउञ्जेलसम्मलाई निलम्बन गर्न सर्वदलीय बैठकले माग गरेको संयोजक उत्तम शर्मा सुवेदीले जानकारी दिए । सर्वदलीय बैठकका संयोजक सुवेदीले गुप्ताका लागि दरवन्दी मिलान तथा स्थान्तरण गर्न समेत माग गर्ने निर्णय गरेको बताएका छन् ।

बैठकमा वडा नं. ४ मा रहेको डिल्लीराज माविमा उब्जिएको समस्या समाधानका लागि बृहत छलफल चलेको थियो । छलफलका क्रममा ०७६ देखि विद्यालयको आलेप र सालेप नगरेको विषयमा जोडतोडका साथ छलफल भएको बताइएको छ । उनीहरुले व्यवस्थापन समिति, पिटिए र सर्वदलीय सर्वपक्षीय सहभागितामा सालेप हुनुपर्ने समेत माग राखेका छन् । प्रअ गुप्ताको व्यवहारका कारण अन्य शिक्षक कर्मचारीहरुमा असन्तुष्टि बढेको भन्दै सर्वदलीय बैठकले विद्यालयको वातावरण विग्रिन सक्ने भन्दै तत्काल प्रअ गुप्तालाई निलम्बन गर्नुपर्ने माग राखेका छन् ।

सर्वदलीय बैठकले अर्जुनधारा –६ स्थित लक्ष्मी माविको २६ लाखभन्दा बढि रकम नबुझाई डिल्लीराज आएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । अर्को ठाउँ जाँदा सालेपपछि आउने बेरुजु नबुझाई जान सक्ने खतरा बढेको भन्दै त्यसतर्फ ध्यान दिन गाउँपालिकालाई आग्रह गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, शिक्षक महासंघ, पिटिए, जिससका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]