बैशाख १७, २०८१ सोमबार

झापा ट्राफिकको त्रि-वर्षीय अर्धवार्षिक समीक्षा : दुर्घटना घट्यो, राजश्व बढ्यो

बिर्तामोड । गत पुस महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । झापा ट्राफिकका अनुसार एक महिनामा १० जनाले ज्यान गुमाएका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनामा ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकको तथ्याङक छ । जसमा कार्तिक महिनामा सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाए ।

वितेको तीन वर्षको अर्ध–वार्षिक विवरण अनुसार ०७८-७९ मा ६३ जना, ०७९-८० मा ६८ जना र चालु आवको साउन–पुससम्म ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार तीन वर्षको अर्ध वार्षिक विवरणलाई समिक्षा गर्दा यो आवमा ज्यान गुमाउनेको संख्या घटेको छ ।
यस्तै, सवारी दुर्घटना संख्या पनि घटेको छ । तीन वर्षीय विवरण अनुसार ०७८-७९ को ६ महिनामा ३०० , ०७९-८० मा ४०२ र ०८० को साउन–पुस मसान्तसम्म २५१ वटा सवारी दुर्घटना भएको प्रमुख न्यौपानेको भनाई छ ।

तीन वर्षको पहिलो ६ महिनाको विवरण अनुसार सवारी कारबाहीबाट राजश्व बढेर गएको छ । ०७८-७९ को ६ महिनामा १ करोड ४१ लाख २२ हजार, ०७९-८० मा १ करोड ६९ लाख ८१ हजार ५ सय र ०८० को साउन–पुस मसान्तसम्म १ करोठ ७१ लाख ९१ हजार ६ सय ४१ रुपैयाँ राजश्व संकलन भएको छ ।

झापा ट्राफिकले पहिलो ६ महिनाको विवरण अनुसार ०७८-७९ को ६ महिनामा २० हजार २ सय, ०७९-८० मा २४ हजार ५० र चालु आवको ६ महिनामा २४ हजार ९ सय ७७ वटा सवारीलाई कारबाही गरेको जनाएको छ ।

गत भदौ ६ गते झापा ट्राफिकको प्रमुखका रुपमा हाजिर भएका न्यौपानेले मातहतका सबै यूनिटको सहकार्य र समन्वयमा दुर्घटना कम गर्न सफल भएको इजलाससित बताए । उनले सकेसम्म दुर्घटना नहोस् भन्ने हिसावले नै काम गरिरहेको बताए । कतिपय दुर्घटना लापरबाही कै कारण भएको उनको भनाई छ । ट्राफिक नियम पालना गरेर सवारी चलाएमा दुर्घटना कम हुने न्यौपानको भनाई छ ।

उनले जिल्लाको नेतृत्व सम्हालेपछि सचेतनामुलक कार्यक्रमहरुलाई तिब्रताका साथ अगाडी बढाई रहेको जानकारी दिएका छन् । चालु आर्थिक वर्षमा सामुदायिक तथा निजी बिद्यालयमा ४३ सय ५० जना विद्यार्थीहरु र विभिन्न स्थानमा चालक, सहचालक, पैदलयात्रु तथा अन्य सबै व्यक्तिहरुलाई ट्राफिक सचेतनामुलक प्रशिक्षण सञ्चालन गरिएको भनाई छ । त्यसबाट ५८ हजार २ सय ५७ जना प्रत्यक्ष रुपमा लाभान्बित गराईएको बताइएको छ । बिर्तामोडको २ स्थानमा, दमकमा २ स्थानमा, काँकडभिट्टामा १ स्थानमा टम्पो, सिटी स्ट्याण्ड निर्माण गरिएको जानकारी दिए ।
माईधार २, केर्खा ४ र जिल्ला कार्यालय कम्पाउण्डमा ७ वटा सीसी क्यामेरा जडान गरिएको प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।

सोही अवधीमा ट्राफिक सिग्नल ३२, होडिङ बोर्ड ३९ वटा गरी जम्मा ७१ वटा राजमार्ग, सहायक राजमार्गहरुमा ट्राफिक सिग्नल होडिङ बोर्ड राखिएको छ ।

जिल्लाका १६ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको छ भने मापसे गरेर सवारी चलाउने ८३५ सवारी साधनलाई कारवाही गरिएको बताइएको छ । 

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टामा २ पटक लापसे चेकजाँच गरिएको थियो । चेकजाँचमा ९ जना लापसे पोजेटिभ चालक देखिएकोले थप अनुसन्धानको लागि इप्रका काँकडभिट्टामा पठाईएको न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख न्यौपानेले शितलहरको समयमा सवारी चलाउन जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]