बैशाख २०, २०८१ बिहीबार

चोरलाई सजिलो नबनाऔं

सम्पादकीय
झापाका विभिन्न स्थानमा अहिले चोरीजन्य घटनाहरुमा वृद्धि भइरहेको छ । जिल्लाको कुनै पनि पालिकामा चोरी नभएको घटना सुन्न पाइदैन । हरेक दिन विजुलीका तारदेखि साइकल, मोटरसाइकल, सुनचाँदी, पसलका विविध सामग्रीहरु चोरी भइरहेको छ । प्रहरी कार्यालय नजिकका घरहरुमा पनि चोरले बाँकी राखेको छैन । व्यस्त बजार होस्, चाहे सुनसान गाउँ किन नहोस्, जहाँ पनि चोरको विगविगी छ । कतिसम्म भने, घरमा खाना बनाउन जोडेर राखिएका ग्यास सिलिण्डर समेत चोरी भइरहेको छ । सुकाएका कपडा हुन् वा पसल बाहिर राखिएका साइनबोर्डका फलाम समेत चोरी भइरहेको छ ।

पुस २९ गते भक्का दिवसमा सहभागी भएर ससुराली पुगेको एउटा परिवार विहान घर आइपुग्दा घर फुटाइएको भेटे । कम्पाउण्ड वालको ढोका नाघेर बाह्रदशी–३ राजगढ बजारमा चोरहरुले २२ तोला सुन र ८५ तोला चाँदी चोरी गरे । सुनचाँदी ठुलो मात्रामा भेट्टाएका चोरहरुले नगद चोरी गरेनन् । अर्थात, नगद नदेखेको हुन सक्छ । राजगढ बजारमा पछिल्लो समय अत्याधिक चोरीको घटना भइरहेको छ । चोरका कारण सो क्षेत्रका नागरिक आतंकित नै हुनु परेको छ । सानो बजारको बीचमा रहेको घरमा पनि यति ठुलो चोरी हुँदा कसैले थाहा पाएन । हुनत : चोरले सधैं मौका नै छोप्ने हो । चोरलाई मौका दियो भने आफैलाई क्षति हुन्छ । त्यसैले सजग रहनु बाहेक कुनै विकल्प छैन ।

बिर्तामोडमा अत्याधिक रुपमा मोटरसाइकल चोरी भइरहेको छ । दैनिक जसो मोटरसाइकल चोरीको घटनाले यहाँका नागरिक असुरक्षा महसुस गरिरहेका छन् । कुनै पनि हालतमा चोरलाई सजिलो हुने किसिमको वातावरण बनाउन हुदैन । २२ तोला सुन, ८५ तोला चाँदी भएको परिवारले घरमा एक जना पनि मान्छे नराखी जानु भनेको चोरलाई सजिलो बनाएको हो । यसैले घर छोड्नु हुदैन । त्यसको विकल्पमा बहुमुल्य सामग्रीहरु सोही अनुसार सुरक्षित राख्न सक्नुपर्छ । सामाजिक सञ्जालमा व्यक्तिगत विवरण, फोटो, सम्पत्ति विवरण लगायतका चोरलाई सजिलो बनाउने काम गर्न हुदैन । चोरी नियन्त्रणमा पहिलो भूमिका आम नागरिकको हुन्छ । र, सुरक्षा निकायको जिम्मेवारी पनि उस्तै हुन्छ । सबैले आ–आफ्नो घरवार र व्यवसाय सुरक्षित राखौं ।

प्रकाशित मिति : माघ ४, २०८० बिहीबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]