बैशाख २१, २०८१ शुक्रबार

आफ्नै सुविधा कटौती गर्ने गौरादहका जनप्रतिनिधिको निर्णय

झापा । झापाको गौरादह नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्ने भएको छ । नगरपालिकाको तेह्रौँ नगर सभामा उपमेयर जलवर्षा राजवंशी चौधरीले प्रशासनिक खर्च कटौती गर्ने प्रस्ताव पेश गरेकी थिइन् ।

नगरपालिकाका जनप्रतिनिधिले मासिक एक पटकको मात्रै बैठक भत्ता प्राप्त गर्ने गरी उनले सभामा प्रस्ताव लगेकी छिन् । यसअघि मासिक २ वटा बैठक भत्ता जनप्रतिनिधिले बुझ्दै आएका थिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नागरिकको सुझावलाई ध्यान दिँदै सुविधा कटौती गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार वडा स्तरमा भएका जनतासँगको अन्तक्रियाका क्रममा आएका सुझावलाई ध्यान दिँदै अब जति वटा बैठक बसे पनि एउटा मात्रै बैठकको भत्ता पाइने छ । सुवेदीका अनुसार नगर सभामा चालु खर्चलाई घटाउँदै पुजिँगत खर्चमा जोड दिइने बताए ।

गौरादह नगरपालिकाका ५० जना जनप्रतिनिधिले अब मासिक एउटा भत्ताको मात्रै रकम पाउने छन् । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनताको सेवामा क्रियाशील जनप्रतिनिधिले जनताको सेवा सुविधामा मात्रै ध्यान दिनुपर्ने बताए । उनले सभाले अन्य धेरै प्रशासनिक खर्च कटौती गरी भौतिक निर्माणमा केन्द्रित गर्ने निर्णय गर्ने विश्वास व्यक्त गरे ।

नगरपालिकामा प्रमुख, उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्य नेकपा एमालेबाट निर्वाचित छन् । नगर सभाको तेस्रो बैठक माघ ९ गते बस्दै छ ।

प्रकाशित मिति : माघ ६, २०८० शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]