बैशाख २५, २०८१ मंगलबार

मेची-महाकाली अभियानमा ब्लड डोनर्स सोसाइटी नेपाल

चितवन – रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरणा जगाउँदै आएको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान उत्प्रेरणा अभियानलाई देशभरी सञ्चालन गर्दै आएको छ । मेची–महाकाली अभियानको पहिलो चरणमा रक्तदातालाई उत्प्रेरणा गर्ने गरी अभियान सञ्चालन गरिएको हो ।

गत पुस ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपाल, काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न स्थानमा रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम गरी सकेको छ । हालसम्म २५ भन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न भइसकेको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत विभिन्न विद्यालय तथा क्याम्पसमा गएर युवालाई रक्तदानसम्बन्धी उत्प्रेरणा र जनचेतनामुलक कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले एक घर एक रक्तदाता भन्ने मूल नारा लिई समाजमा रगतसम्बन्धी चेतना अभिवृद्धि गराउने र रगत अभाव हुनबाट बचाउनका लागि युवामा सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले युवा विदेश पलायन हुनु र स्वदेशमा नै रहेकाले रक्तदानलाई खासै चासो नदिनुले गर्दा रगतको अभाव दिनानुदिन बढ्दै गएको छ । रक्तदानसम्बन्धी सचेतना जगाउनका लागि अभियान सञ्चालन गरीएको हो ।”

मेची–महाकाली अभियानको क्रममा यही माघ ८ गते तनहुँबाट पश्चिम नेपालमा अभियान सञ्चालन गर्न लागिएको अधिकारीले बताउनुभयो । अभियानका क्रममा तनहुँ, लमजुङ, कास्की, पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, सुर्खेत, कैलालीमा रक्तदानसम्बन्धी सचेतना जगाइने उहाँको भनाइ छ । उहाँका अनुसार माघ २१ गते चितवनमा अभियानको समापन गरिने छ ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]