बैशाख २१, २०८१ शुक्रबार

झापामा बंगुरको हाहाकार, मासु पसल दिउँसै बन्द

बिर्तामोड । झापाका बंगुर फे्रस हाउसहरु यतिवेला दिउँसै बन्द हुने थालेका छन् । मासुको माग धान्न नसकेपछि व्यवसायी दिउँसै बन्द गरेर घर फर्किनु पर्ने बाध्यता छ । बंगुर अभाव भएपछि मासुको मुल्य पनि प्रति केजी १ सय रुपैयाँ वृद्धि गरिएको व्यवसायीहरुको भनाई छ । अहिले मासुको औषत दर प्रति केजी ५ सय पुगेको छ ।

किसानले बंगुर पालन घटाउदै गएपछि मासु विक्रेताहरुलाई दैनिक माग धान्न कठिन भइरहेको बिर्तामोडका व्यवसायी कालिबहादुर लिम्बु बताउँछन् । उनका अनुसार विहानै मासु सकिन्छ । विहान ११ बजेसम्म पनि धान्न पनि गाह्रो भइरहेको छ । दुई महिनाअघिसम्म राती ९ बजेसम्म खुल्ने पसलहरु अहिले १२ नबजी बन्द हुन थालेका छन् ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीको मारमा परेका बंगुर पालक किसानले ठुलो क्षति व्यहोर्नु परेको थियो । मासुका लागि तयार गरिएका बंगुर विक्रि नहुँदा किसानहरु मारमा परेका थिए । त्यसपछि अमेरिकन स्वाइन फ्लूले हरेक बंगुर फर्मका बंगुर मरेका थिए । दानाको मुल्य वृद्धि हुनु र बंगुर विक्री नहुँदा किसान दोहोरो मारमा परेका थिए । दोहोरो मार झेलेका किसानले बंगुर पालना घटाएपछि त्यसको असर यतिवेला देखिन थालेको व्यवसायीहरुको भनाई छ ।

बंगुर मासु पसल बिर्तामोडका सञ्चालक कालिबहादुर लिम्बुले बंगुरको अभाव सहज हुन अझै ४ देखि ५ महिना लाग्ने इजलासलाई बताए । उनले जिल्लामा १५ दिन धान्ने बंगुर नभएको बताउछन् । बिर्तामोडमा दैनिक ७० देखि ८० वटा बंगुरको माग छ, लिम्बुले भने – अहिले २५-३० वटा बंगुरले बजार धान्नु परेको छ । केहि महिनाअघि किसान आफै बंगुर किनिदिनु भन्दै आउने अवस्था थियो, अहिले खोज्दा पनि पाइने अवस्था छैन । बजारको २० प्रतिशतभन्दा बढि माग पुरा गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।

झापामा मात्र होइन, इलाम–पाँचथर पुग्दा पनि बंगुर पाउन मुस्किल भइरहेको व्यवसायी बताउँछन् । पहिले एउटै बंगुर ७०-८० केजीको काटिन्थ्यो, व्यवसायी भन्छन् – अहिले २ वटा काट्दा पनि त्यति पुग्दैन । साना – साना बंगुर शिला खोजेर काट्नु परेको छ । भारतमा बंगुर निर्यात नभएपछि बंगुर पाल्न घटाएका नेपाली किसानले व्यवसायीहरुको सिण्डिकेटका कारण धेरै दुख पाएको बताउछन् ।

झापा बिर्तामोड १० का किसान मानविर रेस्मी मगरले किसान धेरै मारमा परेका कारण उत्पादन घटाएको बताउछन् । बंगुर पर्याप्त हुँदा विक्री हुदैन, अहिले व्यापारीले खोज्दा भेटिएको छैन । उनले किसानलाई सहजता नभएकाले पालनमा आकर्षण नभएको उनको भनाई छ । बंैक वित्तीय संस्थाहरुले पनि किसानको समस्या सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो छ ।

बिर्तामोड नगरपालिकाका पशु तथा मत्स्य विकास शाखाका नायव पशु सेवा प्राविधिक निमेश थापाले बंगुरको माग बढेको र उत्पादन घटेको इजलासलाई जानकारी दिए । व्यवसायीले माग गरेजति बंगुर किसानले उपलब्ध गराउन नसकेको बताएका छन् । अफ्रिकन स्वाइन फ्लूपछि किसानले धेरै क्षति व्यहोर्नु परेको उनको भनाई छ । बजारमा लोकल जातको माग धेरै भएको थापाको भनाई छ । उनले भारत निर्यात बन्द भएपछि किसान धेरै समस्यामा परेको बताउँछन् ।

यता, याङतारु होटल सञ्चालक सन्तबहादुर लिम्बुले बंगुरको मासु खानेको संख्या पनि वृद्धि भइरहेको बताउँछन् । उनका अनुसार होटलमा पहिले बंगुरकै मासु खोजिन्छ । बंगुर नभए मात्रै अन्य मासु खोज्ने गरिएको छ ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]