अलपत्र नेत्रपार्क व्यूँत्याउने तयारी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको शहिद नेत्र पार्कलाई सञ्चालन गर्न स्थानीयबासी जुटेका छन् । आज सो पार्कमा श्रमदान गरेका स्थानीय बासिन्दाले पार्क चाँडै सञ्चालन हुने विश्वास व्यक्त गरे ।
बिर्तामोड नगरपालिका वडा नं. ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बृहत सरसफाई सम्पन्न गरिएको छ । सरसफाईमा कोशी प्रदेशसभाका सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, एमालेका नगर अध्यक्ष सुवास भट्टराई, पूर्व मेयर धु्रवकुमार शिवाकोटी , वडाध्यक्ष अविरल कृष्ण खरेलसहितको टोलीले सरसफाई अभियानको नेतृत्व गरेको थियो ।
दुई करोडभन्दा बढि खर्च भइसकेको पार्क संरक्षण अभावले अलपत्र बनेको छ । करोडौं लगानीमा बनाइएको पार्कलाई नयाँ जीवन दिन अभियानको थालनी गरिएको वडाध्यक्ष खरेलको भनाई छ । उनले पार्कलाई कुनै हालतमा सञ्चालनमा ल्याउने जानकारी दिए । वडाध्यक्ष खरेलले पार्कलाई झापाको प्रमुख पिकनिक गन्तव्य बनाउने बताएका छन् ।
सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले पार्क संरक्षणमा समस्या भएको बताए । विभिन्न समितिले निर्माण पुरा नगरी छोड्ने, हस्तान्तरण नगर्ने लगायतका समस्याले पार्क अलपत्र बनेको उनको धारणा छ । प्याकुरेलले अब पार्कलाई स्थानीय सरकार र वन समितिको अगुवाईमा मर्मत संभार गर्दै निर्माण पुरा गरेर सञ्चालन गर्ने बताए ।
प्रदेशसभा सदस्य एकराज कार्कीले संरक्षण अभाव भएकै कारण नेत्र पार्क लथालिंग भएको बताएका छन् । उनले स्थानीयबासीले नै संरक्षण गर्न नसकेको बताए । कार्कीले चरन बन्द गरेर अब पार्कलाई नयाँ ढंगबाट सञ्चालन गरिनुपर्ने बताएका छन् । नेपाल सरकारको १०१ गन्तव्यमा परेको नेत्र पार्क बिर्तामोडको गहना भएकाले यसको संरक्षण अनिवार्य भएको उनको भनाई छ ।
पार्कमा विभिन्न संरचनाहरु निर्माण गरिएको थियो । तर, दुई करोड लगानीमा बनाएका संरचना आधाभन्दा धेरै चोरी भएका छन् भने आधा विग्रिएका छन् । उक्त पार्कलाई वन समिति र वडाले सञ्चालनको हिम्मतसहित अभियानको थालनी गरेको हो ।