झापामा विद्यालय हाताबाट शैक्षिक सामग्री विक्री नगर्न स्थानीय तहको परिपत्र
झापा । विद्यालय हाताबाट पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको बिक्री वितरण भए झापाका पालिकाहरूले नियमन गर्ने जनाएका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले विद्यालय हाताबाट शैक्षिक सामग्रीको हुने अवैध बिक्री वितरण नियमन गर्नुपर्ने माग राख्दै झापाका १५ वटै पालिकामा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको एक साता नबित्दै विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण नगर्न नगराउन मातहतका विद्यालयलाई अधिकांश पालिकाले परिपत्र गरेको छ । पालिकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई परिपत्र गरेका छन् ।
पालिकाको परिपत्र लाई अटेर गरी विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाइए कानुन सम्मत कारबाही गर्ने अधिकांश पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले नेपाल सरकारबाट जसले जुन कामका लागि अख्तियारी लिएको छ, उसले त्यही काम गर्नुपर्ने बताए । ‘प्रचलित कानुन मिचेर कोही कसैले पनि अवैध काम गर्नु हुँदैन,’ उनले भने । ‘विद्यालय सञ्चालकले विद्यालय मात्र सञ्चालन गर्ने हो। सञ्चालकले विद्यालय सञ्चालन गर्ने भनेर नेपाल सरकारबाट स्वीकृति लिएको छ । व्यवसायीले व्यवसाय गर्ने भनेर नेपाल सरकारबाट स्वीकृति लिएको छ । व्यवसायीले व्यवसाय नै गर्ने हो ।’
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले पनि विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक लगायत शैक्षिक सामग्रीको बिक्री वितरण भए नभएको अनुगमन गर्ने बताए । व्यवसायीले लगाएको आरोप पुष्टि भए त्यस्ता विद्यालयमाथि नगरपालिकाले कारबाही गर्ने पनि उनले बताएका छन् ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले उठाएको माग जायज भएको बताइन् । उनले पुस्तक प्रकाशक र व्यवसायी इमान्दार भए विद्यालय हाताबाट कुनै पनि शैक्षिक सामग्रीको बिक्री वितरण हुन नसक्ने जिकिर गरिन् ।
‘व्यवसायीले विद्यालयका प्रशासक र शिक्षकलाई पाठ्यपुस्तक बिक्री नगर्ने हो भने यो समस्याको समाधान हुने बताइन् । उनले भनिन्,’गौरीगञ्ज गाउँपालिकामा कुनै पनि विद्यालयले कानुन विपरीतका गतिविधि गर्छ भने पालिकाले त्यस्ता विद्यालयलाई नियमन गर्छ ।’ उनले पालिकाको परिपत्रलाई अटेर गरी विद्यालयले गैरकानुनी काम गर्छ भने त्यस्ता विद्यालयको सञ्चालन र दर्ता अख्तियारी नै खारेज गर्न सकिने बताएकी छन् ।
शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाइने व्यवस्था छ । यस्तै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ संशोधनसहित परिच्छेद ४.४ को ७ मा विद्यालयहरूले आफै पाठ्यपुस्तक तथा स्टेसनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ ।
तर जिल्लाका केही विद्यालयहरूले पाठ्यपुस्तक र शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण गर्ने गरेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले आरोप लगाउँदै आएको छ ।
विद्यालयको नियमित अनुगमन र नियमन हुन नसक्दा कानुन विपरीतका यस्ता गतिविधि विद्यालय हातामा भइरहेको महासंघ झापाका सल्लाहकार समिति प्रमुख फडिन्द्रराज न्यौपानेले बताए ।
दमक नगरपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, बिर्तामोड नगरपालिका लगायत जिल्लाका अधिकांश पालिकाले विद्यालयलाई परिपत्र गरी विद्यालय हाताबाट कानुन विपरीतका गतिविधि नगर्न र नगराउन निर्देशन दिएको छ ।