बैशाख १७, २०८१ सोमबार

बिर्तामोडको कृषिथोकमा पाइने तरकारीमा विषादीको मात्रा घट्यो

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा धेरै पटक उपभोग गर्न अयोग्य तरकारी खाल्डोमा पुरिएको छ । सागमा समेत विषादीको मात्रा धेरै भेटिएको कृषिथोकमा अहिले नियमित तरकारी र फलफूल जाँच गरिन्छ । प्राविधिकहरुका अनुसार तरकारीमा पछिल्लो समय विषादीको मात्रा घट्दै गइरहेको छ ।

बिर्तामोडको कृषिथोक बजारमा हरेक दिन विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाईले तरकारी तथा फलफूलको विषादीको मात्रा परीक्षण गर्दै आएको छ । प्रयोगशालाले शुक्रवार भारतबाट आयात गरिएको हिउँदे सिमी, इनरुवाबाट आयातित मटरकोसा,कान्छी सिमि, हरियो खुर्सानी र जाँतेको गोलभेडा परीक्षण गरेको थियोे । प्रयोगशालाकी नायव प्राविधिक सहायक अम्बिका बोहोराले परीक्षण गरिएका सबै तरकारी उपभोग गर्न योग्य रहेको जानकारी दिइन् । उनका अनुसार हरेक दिन ५-५ फरक प्रकृतिका तरकारी, फलफूल जाँच गर्ने गरिएको छ ।

बिहीवार उनीहरुले भारतको हिउँदे सिमी, इनरुवाको करेला, बैगन, रङ सिमी र राजगढको गाँजरको विषादी मात्रा जाँच गरेका थिए । त्यसमध्ये कुनै पनि तरकारीजन्य कृषि वस्तु उपभोग गर्न अयोग्य नरहेको जानकारी दिए । नाप्रस बोहराका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी देखिएमा उपभोग्य, ३५ देखि ४५ बीचमा देखिए केहि दिन राखेर मात्रै उपभोग गर्न सकिने र ४५ प्रतिशतभन्दा माथि विषादीको मात्रा देखिएमा उपभोग गर्न अयोग्य हुन्छ ।

उपभोक्ताको चहाना अनुसार हेर्दै टलक्क परेका तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गरिरहेका थिए । पैसा हालेपछि राम्रो छानेर तरकारी खरिद गर्ने चलन छ, तरकारी व्यवसायी भन्छन् – हेर्दा राम्रोभन्दा अलि विग्रिएको, चाउरी परेको, कमिला घुमिरहेको तरकारीमा विषादीको मात्रा कम हुन्छ । टलक्क परको तरकारी छिटो विक्री हुने भएपछि किसानले पनि विषादी प्रयोग बढाउने गरेको उनीहरुको भनाई छ ।

प्रयोगशालामा सिजनका तरकारीलाई प्राथमिकताका आधारमा जाँच गर्ने गरिएको छ । सिजनभन्दा बेसिजनका तरकारी तथा फलफूलमा धेरै विषादी प्रयोग गरेको हुन सक्छ, प्राविधिक बोहराले भनिन् , उत्पादन वृद्धि गर्नका लागि वेसिजनका कृषिवस्तुमा विषादीको संभावना धेरै हुन्छ ।

किसानले कृषि उत्पादनमा विगतमा भन्दा धेरै सुधार ल्याएको इजलासलाई जानकारी दिइन् । पहिले–पहिले २÷३ दिनमा खान अयोग्य तरकारी भेटिन्थ्यो । अहिले विरलै भेटिन्छ । किसानलाई विषादी प्रयोग र यसले स्वास्थ्यमा गर्ने क्षति बारे सचेतना प्रदान गर्दै आएको बताइएको छ । किसानलाई यसबारे ज्ञान प्रदान गरेपछि विषादीको मात्रा कम हुँदै गएको छ । उनले राम्रो धोइपखाली गरेरमात्रै उपभोग गर्न आग्रह समेत गरेकी छन् ।

प्रकाशित मिति : माघ १३, २०८० शनिबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]