बैशाख ७, २०८१ शुक्रबार

पर्यटक लोभ्याउन झापा आतुर

झापा । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईँलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतिमाले मोहनी लगाउनेछ ।

dav

अर्जुनधारा नगरपालिकाको रु ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे बजारभरि सजाइएका छन् जहाँबाट वर्षेनी तीन लाख धार्मिक पर्यटकको आगमन हुने गर्छ । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाम शनिश्चरेबाट पाँच सय मिटरको दूरीमा पर्छ भने नेपालको आधुनिक राजनीतिक इतिहासमा उच्च सम्मानका साथ स्मरण गरिने सुखानी शहादतस्थल र शहीद स्मृति उद्यानपनि नजीकै छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै गर्दा अर्जुनधारा मात्र होइन, झापाका अधिकांश पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ । तिनीहरुको काँचुली फेरिएको छ । लाग्छ, भ्रमण वर्षमा पर्यटक लोभ्याउन झापा आतुर छ । झापामा बाह्य पर्यटक काँकडभिट्टा नाका र चन्द्रगढी विमानस्थलबाट भित्रिने गर्छन् । यी दुवै स्थानमा पर्यटकीय पूर्वाधारको अभूतपूर्व विस्तार भएका छन् । भारत, भुटान, बङ्गलादेश र म्यान्माबाट स्थलमार्ग हुँदै भित्रिने पर्यटकले काँकडभिट्टामा न्यानो आतिथ्य अनुभूति गर्ने गरी स्वागत तथा भ्रमणको वातावरण तयार पारिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती बताउछीन् । उनकै संयोजकत्वमा पूर्वी नाकाको शहर मेचीनगरमा भ्रमण वर्षको स्थानीय समिति गठन भएको छ ।

भ्रमण वर्षको पहिलो दिन भित्रिने पर्यटकलाई नाकामा स्वागत गर्नेदेखि सरोकार पक्ष सबैको सहभागितामा कार्यक्रम गरी पर्यटन अभियानको उद्घोष गरिने मेचीनगरको योजना रहेको उनले बताइन् । काँकडभिट्टा नाका नेपालमा बङ्गलादेशी र भुटानी पर्यटक भित्रिने मुख्य प्रवेशद्वार मानिएको छ ।

पहिलो प्रभाव नै अन्तिमसम्म रहने भएको हुँदा पर्यटकलाई काँकडभिट्टामा पाइला टेक्नेबित्तिकै स्वागत, सुरक्षा र बसाइ आनन्ददायक होस् भनेर काँकडभिट्टाका होटल, लज र सुरक्षा सुविधालाई पर्यटकमैत्री बनाइएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङ बताउछन् । बस्नका लागि हरेक होटल र लजले पर्यटन वर्ष अवधिभर १५ प्रतिशत छुट दिएको र घुमफिरका लागि बजारिभत्रैको बिपी पुष्पलाल उद्यान, देवकोटा उद्यान र बसपार्कलाई विशेष ढङ्गले सजाइएको उनले जानकारी दिए ।

प्रवेश नाकामा पर्यटकलाई सामान जाँचमा सुविधा होस् भनेर एक्स–रे मेशिन प्रयोगमा ल्याइएको, अध्यागमनमै पर्यटक प्रहरी परिचालन गरिएको र बसपार्कमा यात्रु तानातान प्रथा बन्द गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए । पर्यटकको सुरक्षा र आवश्यक सहयोगका लागि कामा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

पछिल्लो समय नेपालकै व्यस्तमध्येको चन्द्रगढी विमानस्थल भौतिक पूर्वाधार विस्तार र सौन्दर्य अभिवृद्धिका कारण नमूना बनेको छ। रात्रिकालीन उडान भर्ने क्षमता विकास गरिसकेको सो विमानस्थलमा सामान जाँचका लागि एक्स–रे मेशिन र यात्रुको शरीर जाँचका लागि इलेक्ट्रिक डिटेक्टर मेशिन प्रयोगमा ल्याइएको विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए। विमानस्थलको प्रवेशद्वार सजाएर मनमोहक बनाइएको छ । विमानस्थल परिसरमा बालबालिका उद्यान र भित्री भागमा इन्टरनेट, शौचालय, पुस्तकालयलगायत सुविधा बढाइएको छ ।

चन्द्रगढी विमानस्थलबाट हाल काठमाडौं, सुकेटार र लुक्ला विमानस्थलसम्म सीधा उडान भर्न थालिएको छ । निकट भविष्यमा बङ्गलादेशको साहिदपुर र पोखरासम्म उडान गराउने योजना भइरहेको विमानस्थलका प्रमुख चुडाल बताउछन् ।

नेपालकै होचो स्थान कचनकबल, महाभारतकालीन पुरातात्विक अवशेष भेटिएको किच्चकबध, धार्मिक क्षेत्र सताक्षीधाम, ऐतिहासिक चन्द्रगढ र चिल्लागढ, कन्काई नदीको किनारमा रहेको दोमुखा, कृष्णथुम्कीलगायत पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माण गरिएका छन् । झापाका सबै पर्यटकीयस्थलसम्म जानका लागि मोटरबाटो निर्माण भइसकेको हुँदा भ्रमण वर्षमा झापाले पर्यटक लोभ्याउने झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल बताउछन् ।

समुद्र सतहबाट ५७ मिटरको उचाइमा रहेको कचनकबलमा पर्यटकलाई नौका विहार गराउने र बास बसाउने योजना भने अधूरै छ । नजीकको बनियानी बजारमा कुनै होटल र लज नभएका कारण पर्यटकले २९ किमी टाढा भद्रपुर र चन्द्रगढीमा बास बस्नुपर्ने अवस्था छ । कचनकबल गाउँपालिकाका इञ्जिनीयर अमित ढुङ्गानाका अनुसार सङ्घीय सरकार अर्थ मन्त्रालयको समपूरक कोषबाट कचनकबल पर्यटकीयस्थलको भौतिक निर्माण र सौन्दर्य अभिवृद्धिका लागि रु एक करोड ३० लाख बजेट प्राप्त भएको छ । सो बजेटबाट माछा आकृतिमा उभिएको केचनास्तम्भ र वरिपरि नौका विहार गर्न सकिने गरी विशाल पोखरी निर्माण जारी छ । होचो स्थानमा रहेको स्तम्भमा पुग्ने पर्यटकका लागि सडक, सुरक्षा, शौचालय र साना होटलको सुविधा उपलब्ध छ ।

भद्रपुर–२ स्थित किच्चकबध पर्यटकीयस्थलमा पर्यटकका लागि आराम गर्ने चौतारो, पिउने पानी, प्रवेशद्वार, मन्दिर र मूर्तिको निर्माणलगायत काम भइरहेको सो वडाध्यक्ष भीम सुब्बा बताउछन‍् । महाभारतकालमा विराट् राजाका सालो किच्चकलाई द्रौपदी दुव्र्यवहारको आरोपमा भीमसेनले मुड्कीले हिर्काएर बध गरेको स्थान किच्चकबधमा वर्षेनी ठूलो मेला लाग्ने गर्छ ।

झापामा पर्यटकको आगमन उल्लेखनीय रहोस् भनेर भारतका दार्जि्लिङ, सिक्किम, कोलकाता र सिलगढीमा भ्रमण वर्ष को प्रवद्र्धनात्मक गतिविधि गरिएको भ्रमण वर्षका लागि प्रदेश नं १ सरकारले गठन गरेको ग्रमीण पर्यटन तथा हस्तकला उपसमितिका संयोजक अर्जुनकुमार कार्की बताउछन्। बङ्गलादेशबाट नेपाल आउन चाहने पर्यटकलाई भारतीय बाटामा विभिन्न झन्झट भएकाले त्यसको सहजीकरणका लागि सङ्घीय सरकारले पहल गर्नुपर्ने माग उनले गरेका छन् ।

आन्तरिक पर्यटनको विकास गर्न झापाका महिला र युवा अग्रसर भएका छन् । मेचीनगरका महिलाले गत साता मेचीनगरको धुलाबारीबाट बुद्धशान्ति गाउँपालिकाको धारागोला भ्यूटावरसम्मको १९ किमी पदयात्रा सम्पन्न गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी बताउछीन्। झापाको काँकडभिट्टाबाट इलामका सलकपुर, श्रीअन्तु र सन्दकपुरसम्म पदयात्रा र साइकल मार्गको पहिचान गरिसकिएको साइकल पर्यटन अभियानकमी विनोद दाहाल बताउछन् । कचनकबल, किच्चकबध, अर्जुनधारा, सताक्षीधाम, दोमुखा, बेंसीबजार, सुखानी शहीदोद्यानलगायत स्थानमा साइकल पर्यटनको सुरक्षित सम्भावना देखिएको उनको भनाइ छ । दाहालको नेतृत्वमा झापाका पर्यटकीयस्थलमा हरेक साता साइकल भ्रमण गर्ने अभियान सञ्चालन भइरहेको छ ।

स्थानीय सामुदायिक वन समितिहरुले विकास गरेको पर्यटकीयस्थलहरुले समेत आन्तरिक पर्यटन बढाएका छन् । कनकाईस्थित जामुनखाडी सामुदायिक वन समितिले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा झापामा पहिलोपल्ट विकास गरेको थियो । हाल सिमसार पर्यटनबाट सो सामुदायिक वन समितिले वर्षेनी रु तीन करोड आम्दानी गर्दै आएको छ। जिल्लाका बाँसबारी, कालिका, थोप्लेबिरान, खुट्टेडाँगी, भेलागुढीलगायत सामुदायिक वन समितिले समेत अहिले जामुनखाडीकै सिको गरेर सिमसार पर्यटनको विकास गरेका छन् ।

झापामा बसोबास गर्ने जनजातिको भाषा, संस्कृति र रहनसहनसमेत पर्यटकीय दृष्टिले आकर्षणयुक्त रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष दिपीन राई बताउछन् । झापामा मात्र रहेका किसान, मेचे र मुण्डा जातिको संस्कृति पर्यटकका लागि अनुसन्धानको विषय बन्न सक्छ। राजवंशी, सन्थाल, धिमाल, गनगाई, ताजपुरिया र लिम्बू जातिको मौलिक संस्कार देखाएर पर्यटकलाई लोभ्याउन सकिने सम्भावना छ ।

प्रकाशित मिति : पुष १३, २०७६ आईतबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]