जेष्ठ ४, २०८१ शुक्रबार

दुर्गा माविको वार्षिकोत्सवमा शिक्षक विद्यार्थीसहित दर्जनौं सम्मानित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा अवस्थित दुर्गा माध्यमिक विद्यालयको ६८ औं वार्षिक उत्सवको अवसरमा शिक्षक विद्यार्थी अभिभावक लगायत दर्जनौं व्यक्तिहरूलाई बुधबार आयोजित समारोहका बीच सम्मान गरिएको छ ।

विद्यालयको वार्षिक उत्सव तथा बृहत अभिभावक भेलाको अवसर पारेर संघीय संसदका सभामुख देवराज घिमिरेले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले विद्यालयले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष शिक्षक सम्मानद्वारा शिक्षक धर्मेन्द्र भट्टराईलाई सम्मान पत्र दोसल्ला र नगद सहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा दीर्घ सेवा सम्मानद्वारा विद्यालयका शिक्षकद्वय कुमार खरेल र जनार्दन मिश्रलाई दीर्घसेवा सम्मान द्वारा सम्मानित गरिएको छ भने स्थानीय स्वर्गीय खतिया सिंह राजबंशीको स्मृतिमा स्थापित स्वर्गीय खतिया सिंह राजवंशी स्मृति अक्षय कोषको तर्फबाट सोही विद्यालयका शिक्षक निरतलाल राजवंशी र देवकोटा आधारभूत विद्यालयकी शिक्षिका टिका चौधरीलाई नगद प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित शिक्षकहरूलाई नगद १०,५५५ समेत प्रदान गरिएको थियो ।

सोही अवसरमा उक्त विद्यालयका पूर्वप्रधानाध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा दाता स्वर्गीय खतिया सिंह राजबंशीको परिवारको तर्फबाट श्रीमती सारदा राजबंशी जग्गादाताहरू मध्यबाट फलिता राजवंशी र उत्कृष्ट अभिभावक तर्फ एजमिरा खातुन र पूर्व विद्यार्थी आकृति खरेललाई समेत सम्मान गरिएको थियो ।

सोही कार्यक्रमका बीच नेपाल टेलिभिजनका संवाददाता इन्द्रजित मुखिया सुनुवारलाई उत्कृष्ट शैक्षिक पत्रकार सम्मानद्वारा सम्मानित गरियो ।

विद्यालयमा स्थापित १० वटा छात्रवृत्तिहरूबाट विभिन्न विद्यार्थीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने वार्षिक उत्सव समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरे, कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्र देवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक, शिक्षा शाखा बिर्तामोड प्रमुख तिलचन भण्डारी, पूर्वप्रधानाध्यापक गुरुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपानेले २ लाख ५१ हजारको अक्षय कोष स्थापना गरिदिने घोषणा गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विभिन्न सांस्कृतिक नृत्य शिक्षक तथा विद्यार्थीद्वारा प्रस्तुत गरिएको उक्त समारोहमा सहायक प्रधानाध्यापक लेखनाथ सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्वय धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : माघ १८, २०८० बिहीबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]