जेष्ठ ४, २०८१ शुक्रबार

झापाभर फैलियो विषालु ‘उल्टा काँडा’ झार

अम्बिका भण्डारी

झापा । लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा संकट थपिएको विज्ञहरुले जनाएका छन् ।

फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा. लीलानाथ शर्माले झापाको मेचीनगरमा हालै भएको ताजा अध्ययनले १५ वटै वडामा ‘उल्टा काँडा’ फैलिएको भेटिएको र त्यसबाट जैविक विविधतामा संकट निम्तिएको बताए ।

डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा फरेस्ट एक्सन नेपालले मेचीनगरमा छ जना प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गरेको थियो । अध्ययनले सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा मेचीनगर नगरपालिकाले समेत चासो बढाएको छ ।

वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा विषालु झुस हुन्छ भने यसको घाँस खाएका पशुहरु बिरामी भएर मर्ने गर्छन् ।

झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रुपमा फैलिरहेको अनुसन्धाता शर्माले बताए । यसको तत्काल नियन्त्रण गर्न विशेष कार्यक्रम नै चाहिने उनको सुझाव छ ।
‘उल्टा काँडा’ झार नियन्त्रण अभियान सञ्चालन गरिरहेको फरेस्ट एक्सन नेपालले केही वर्ष अघि गरेको अर्को अध्ययनले झापाका अधिकांश सामुदायिक बन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारहरुलाई विस्थापित गरिरहेको निष्कर्ष निकालेको थियो ।

झापा र मोरङमा एक दशकमा ५०० भन्दा बढी चौपाया ‘उल्टा काँडा’को घाँस खाएर मरिसकेको फरेस्ट एक्सन नेपालले जनाएको छ । ‘उल्टा काँडा’ को विषाक्त घाँस खाँदा मरेका पशुहरुमा बाख्रा खसीको संख्या आधाभन्दा बढी रहेको बताइएको छ ।

‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्विप मानिएको छ । दुई दशक अघिदेखि नेपालमा यसले फैलिन थालेको मानिन्छ । भूटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको विज्ञहरुको अनुमान छ । हाल पूर्वी नेपालमा मात्र यो पाइएको छ ।

अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीब्र गतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुल्ला ठाउँ, जंगल, सडक छेउछाउ र ढुंगाबालुवा छरिएको ग्रावेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुंगा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको हो ।
यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताए । झापाका २२ सामुदायिक बनमा अध्ययन गर्दा यसले जैविक विविधतामा संकट निम्त्याइसकेको पाइएको उनले बताएका हुन् ।

“यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छन्,” भण्डारीले भने, –“फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र बन्यजन्तु समेत छिर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।”
मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँस खाएका अर्जुनधाराका थुप्रै पशु चौपाया मरेको उनले जानकारी दिए । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् ।

झापाको टिमाई, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँवस्तीमा फैलिने गरेको छ । विर्तामोडको निचाझोडा सामुदायिक वनको २० हेक्टरभन्दा बढी जमिनमा ‘उल्टा काँडा’ झारले रैथाने बनस्पतिलाई विस्थापित गरिसकेको छ ।

“जहाँ फैलिएको छ, त्यहीँ यसलाई मास्ने कार्य गरेमा मात्र नियन्त्रण प्रभावकारी हुन्छ,” फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा. शर्मा भन्छन् , –“स्थानीय तह, बन समिति र नागरिक समाज नै यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।” झाडीलाई समूल फाँडेर र उखेलेर आगो लगाई नस्ट गरेर यसको नियन्त्रण गरिदै आएको उनले बताए ।

जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै फरेस्ट एक्सन नेपालले झापाको हल्दिबारी, मेचीनगर लगायतका पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको छ । “यो माइकेनिया झार भन्दा पनि डरलाग्दोसँग फैलिएको छ”, उनले भने, “तत्काल नियन्त्रण गर्न पहल नगर्ने हो भने मास्नै नसक्ने गरी फैलिनेछ ।”

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  १२ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]