बैशाख २४, २०८१ सोमबार

हिकोला होटल सञ्चालकले घर हडप्न खोजे : घरधनी

हाम्रो होटल हडपियो : सञ्चालक

अर्जुन कार्की

मेचीनगर । झापाको काँकरभिट्टास्थित होटल हिकोला हेरिटेज भएको पाँच तला सुविधा सम्पन्न घर होटल सञ्चालकले हडप्न खोजेको घरधनी विष्णुमाया श्रेष्ठ दाहालले आरोप लगाएकी छन् ।

सोमबार धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा होटल हिकोला हेरिटेजका घरधनी विष्णुमाया श्रेष्ठले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई सो आरोप लगाएकी हुन् ।

वास्तविक घटना यस्तो थियो । २०७४ पुस २४ गते होटल सञ्चालनका लागि बिर्तामोड निवासी श्रेष्ठलाई घरधनी मेचीनगर–६, काँकरभिट्टा निवासी श्रेष्ठ र उनका पति पशुपति दाहालले १५ वर्षका लागि मासिक दुई लाख २५ हजार भाडा लिने गरी सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार होटल सञ्चालकले घरधनीलाई ५ लाख पेश्की दिएको देखिन्छ । उक्त पेश्की मासिक भाडामा काटिदै जाने उल्लेख छ । यसअघि सो होटल घरधनीले सञ्चालन गरिरहेका थिए । त्यहाँ भएका सबै सामान पछि होटल सञ्चालन गरिरहेका देवीभक्त श्रेष्ठलाई छाडिएको थियो । १५ वर्षपछि होटल जसरी चलिरहेको थियो त्यसरी नै छाड्नु पर्नेछ ।

अपुरो घरलाई मर्मत गर्दा लागेको होटल सञ्चालकको खर्चलाई घरधनीले व्यहोर्ने सहमति भएको थियो । २÷२ वर्षमा ५ प्रतिशतले भाडा बढ्ने सहमति भएको थियो । उक्त सम्झौतामा घरधनीलाई दोस्रो पक्ष र होटल सञ्चालकलाई पहिलो पक्ष भनिएको थियो ।

त्यतिखेर सम्झौता गर्दा घरधनीलाई दोस्रो पक्ष र होटल सञ्चालकलाई पहिलो पक्ष राखेर गरिएको सम्झौता ठिक नभएको भन्दै घरधनीले सुरुमै आपत्ति जनाएका थिए । त्यहिँबाट दुई पक्षबीच विवाद सुरु भएको थियो ।
त्यसपछि घरधनीलाई चित्त नबुझेपछि मेची उद्योग बाणिज्य संघमा पहिलो पटक २०७५ फागुन २२ गते वैठक बसेको थियो । सो बैठकले संघका तत्कालिनका अध्यक्ष विजय डालमियाको संयोजकत्वमा डिल्लीराम घिमिरे, रविचन्द्र नेपाल, माधव अर्याल, राम तामाङ, राजु दाहाल र सुरेन्द्र बुढाथाकीको समिति बनाइएको थियो ।

समितिले २०७५ चैत २५ गते, २०७६ बैशाख १३ गते, जेठ २४ र ३० गते, कात्तिक ४ गते, २०७६ मंसिर १ गतेको बैठकले होटल सञ्चालकको खर्च यकिन गर्न विज्ञ खटाउने र कोभिड–१९ मा भएको भाडाका विषयमा छलफल गर्ने सहमति भएको थियो ।

२०७९ असोज २४ गते घरधनीले होटल सञ्चालकले भाडा नदिएको भन्दै मेचीनगर–६ नम्बर वडा कार्यालयमा छलफल गरी घरखाली गरी पाउँ भनि निवेदन दिएका थिए ।

त्यस्तै घरधनीले २०८० बैशाख २९ गते मेची उद्योग बाणिज्य संघमा यसअघिका सम्झौता भंग गरी घरखाली गरी पाउँ भनि निवेदन दिएका थिए । त्यसपछिका अध्यक्ष खेमराज प्रसाई संयोजकत्वमा पुरानै समिति यथावत थियो । समितिको १६ पटकको छलफलपछि २०८० असार २ गते १३ औँ बैठकको निर्णय होटल सञ्चालकले अस्वीकार गरेपछि मुद्वा जिल्ला प्रशासन कार्यालय झापामा पुगेको थियो ।

प्रशासनले मुद्वा मिलाउन समितिलाई पठाएको थियो । त्यसपछि समितिको २०८० असोजमा बसेको बैठकले होटल सञ्चालकलाई घर मर्मत गरे वापत एक करोड ६० लाख, कोभिडको ७ महिनाको घरभाडा छुट घरधनीले तिर्नुपर्ने निर्णय भएको थियो ।

त्यस्तै, होटल सञ्चालकले घर छाड्नु परे एक वर्ष अगाडि जानकारी गराउनु पर्ने र त्यस वापतको एक वर्षको घरभाडा होटल सञ्चालकलाई छुट गर्नुपर्ने निर्णय भएको थियो । उक्त निर्णय दुवै पक्षले सहमति जनाएका थिए ।
उक्त निर्णयको सहमति गरेको भोलि पल्ट होटलको ४ वटा एसी, कुर्सी लगायतका केहि महत्वपूर्ण सामान होटल सञ्चालकले घर लगेको घरधनीले समितिलाई उजुरी गरेको थियो ।

घरधनीले घरखाली गर्ने सूचना २०७९ असोज २४ गते जानकारी गराएको जानकारी दिए ।
घरधनीले मेचीनगर नगरपालिकाको न्यायिक समितिमा २०८० माघ २२ गते फेरि घरखाली गराइपाउँ भनी निवेदन दर्ता गरेको थियो । नगरपालिकाले सो विषयमा छलफल गर्न २ पटक बोलाउँदा समेत होटल सञ्चालक आएनन् ।
नगरपालिकाले २०८० माघ २४ गते पनि होटल सञ्चालकलाई बोलाउँदा नआएपछि स्थानीयबासीले दलबलसहित घरधनीलाई होटलमा पसाएका थिए ।

त्यसपछि २०८० माघ २६ गते नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीको उपस्थितिमा छलफल गरी बाणिज्य संघका अध्यक्ष प्रसाईको संयोजकत्वमा डिल्लीराम घिमिरे, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौला र होटल व्यवसायी मानबहादुर गिरी सदस्य रहने गरी समिति गठन गरिएको थियो । सोही दिन राति होटल दुवै पक्षको सहमतिमा ताला लगाइएको थियो ।

समितिले माघ २८ गते ताला खोलेर छानविन गरिरहेको अवस्थामा होटलमा यसअघि बसेको गेष्टका विषयमा होटल सञ्चालक देवीभक्तका छोरा गौरव श्रेष्ठसँग सामान्य विवाद भएको थियो ।

गेष्टको सामान होटलमा छुटेको थियो । उक्त सामान प्रहरी, होटल सञ्चालकलाई जानकारी गराएर बाणिज्य संघका अध्यक्ष प्रसाईले सुरक्षित राखेका थिए । भोलि पल्ट गेष्टलाई सामान दिइएको थियो ।

गेष्टको होटलमा पाँच हजार ९ सय बाँकी रहेको भन्दै होटल सञ्चालक श्रेष्ठले समितिसँग निहुँ खोजेका थिए । श्रेष्ठले समितिका सदस्य मानबहादुर गिरीलाई अपशव्द बोल्दै निहुँ खोजेर भिडियो गरेपछि अध्यक्ष प्रसाईले मोवाइल खोसेर फालिदिए ।

सोही विषयमा सोमबार संघले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रसाई, पूर्व संयोजक विजय डालमिया, समितिका सदस्य माधव अर्याल, डिल्लीराम घिमिरे, घरधनि श्रेष्ठले लगायतले आ–आफ्नो धारणा राखेका थिए । समितिले एक महिनाभित्र छानविन गरी निर्णय गर्ने गरी कारवाही अघि बढाएको छ ।
सोही विषयलाई लिएर देवीभक्त श्रेष्ठले आइतवार पत्रकार सम्मेलन गरिसकेका छन् । उनले प्रहरी, प्रशासन कतैबाट न्याय नपाएको भन्दै दुखेसो पाखेका थिए । उनले घरधनीसहित काँकडभिट्टाका केहि युवाहरुको हुलहुज्जतले होटलबाट कुटपिट गर्दै होटलबाट बाहिर निकालेको र होटल हडप्ने काम गरेको आरोप लगाएका छन् । उनले समाजमा ठुलो उपलब्धी दिन नसके पनि समाजमा कुनै क्षति नपुराएको बताएका थिए । होटल सञ्चालकहरुले ज्यान लिने गरी हमला भएको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति : माघ २९, २०८० सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]