बैशाख २५, २०८१ मंगलबार

अधुरै भयो, प्रकाश शिवाकोटी नेतृत्वको लोकतान्त्रिक प्यानलका २९ प्रतिवद्धता

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिक आएसँगै बजारमा नेतृत्व चयन बारे छलफल सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलले मंगलवार उम्मेरवारी घोषणा नै गरेको छ । लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् ।

स्वतन्त्र व्यावसायीक प्यानलको नेतृत्व अर्जुन कुमार मैनालीले गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ । मैनाली नेतृत्वको प्यानलले पनि उम्मेदवारी घोषणाको अन्तिम तयारी गरेको छ । फागुन १४ गते हुने निर्वाचनका लागि व्यवसायीहरु कस्तो नेतृत्व चयन गर्ने भन्ने आन्तरिक छलफलमा छन् ।

गुम्दै गएको बिर्तामोड वाणिज्य संघको महत्वलाई व्यूँझ्याउनु पर्छ भन्ने अधिकांश व्यवसायीको तर्क छ । केहि वर्षदेखि व्यवसायीहरुको मुद्दाभन्दा बाहिर केन्द्रित भएको नेतृत्व फेरि नदोहोर्याउने आम व्यापारीहरुको तयारी छ । वाणिज्य संघलाई आम व्यवसायीको हितमा काम गर्न सक्ने नेतृत्व आवश्यक भएको भन्दै व्यवसायीहरु ‘फागुन १४’ परिवर्तन ल्याउने दिनको रुपमा प्रयोग गर्ने तयारीमा छन् ।

बिर्तामोडका व्यापारीहरु वाणिज्य संघले व्यापारीको पक्षमा काम गर्नुपर्ने समय स्थानीय तहसँग झगडा गरेर विताएको प्रतिक्रिया दिइरहेका छन् । अधिकांश व्यवसायीहरुले प्रकाश शिवाकोटी नेतृत्वले गरेको कुनै पनि प्रतिवद्धताहरु पुरा नभएको बताइरहेका छन् ।

अघिल्लो निर्वाचनमा  लोकतान्त्रिक व्यावसायिक प्यानलको नेतृत्व गरेका शिवाकोटी प्यानलले २९ वडा साझा प्रतिवद्धताहरु सार्वजनिक गरेको थियो । ०७७ फागुन १६ गते भएको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले सार्वजनिक गरेका प्रतिवद्धताहरु पहल गर्ने, क्रियाशिल रहने, व्यवस्था गर्ने, समाधान गर्ने जस्ता विषयहरु मात्रै समेटिएका थिए । त्यसमध्ये देखिएको कार्यक्रम महोत्सव मात्रै हो ।

यस्तो थियो शिवाकोटीको लोकतान्त्रिक व्यावसायिक प्यानलको साझा प्रतिवद्धताहरु

१. सदैव उद्योगी व्यवसायीको हकहित , सुरक्षा र संरक्षणमा क्रियाशिल रहने,

२. उद्योगी व्यवसायी तथा उद्योग व्यवसाय क्षेत्रलाई शान्ति सुरक्षाको पुर्ण प्रत्याभुती दिलाउँदै रात्रिकालिन बजार संचालनको बातावरण बनाउने,

३. बिर्तामोडलाई बन्द हडताल र चन्दामुक्त बनाउँदै सुरक्षा प्रसासन राजनीतिक दल सरोकारवालासँगको सहकार्यबाट सुरक्षित र शान्तिपुर्ण व्यवसायिक वातावरण बनाउने,

४. सबै उद्योगी व्यवसायीको सल्लाह सुझाव र सहकार्यबाट बिर्तामोडलाई व्यवसायमैत्री बनाउँदै सबै उद्योगी व्यवसायीको भावना अनुरुप सामुहिक र साझा रुपमा संघका गतिविधिलाई अघि बढाउने ।

५ . समयानुकुल संघको संस्थागत र अतिथि सदन लागयतका भवनको भौतिक विकास र विस्तार गर्ने,

६. प्रत्येक व्यवसायीको विवरण डिजिटल प्रविधिमा राखि व्यवसायीलाई स्मार्ट परिचय पत्र वितरण गर्ने,

७. हरेक उद्योग व्यवसायीप्रति संघको नेतृत्वलाई जिम्मेवार र जवाफदेही बनाउँदै संघका हरेक गतिविधि पारदर्शी बनाउने,

८. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट खस्किएर धरासायी भएको उद्योग व्यवसायीलाई सबल र सक्षम बनाउन आवश्यक सबै पहल गर्ने,

९. धरासायी भएको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय प्रदेश र स्थानीय सरकारसँग पहल गरी करको दरलाई न्यूनिकरण गर्ने,

१०. महिला उद्यमशिलताको विकास गर्न सामुहिक महिला व्यवसायिक सेन्टर निर्माण गरी महिलाहरुले उत्पादन गरेका माल बस्तुहरुको प्रवद्र्धन र बजारीकरण गर्ने,

११. महिलालाई उद्यमशिल बन्न प्रोत्साहित गर्नका साथै महिलाले संचालन गरेको उद्योग व्यवसाय प्रवद्र्धनमा सहज ऋण लगायतका आवश्यक कार्यको व्यवस्थापनमा पहल गर्ने,

१२. आन्तरिक राजश्व कार्यालय सँगको सहकार्यमा उद्योगी व्यवसायीका लागि पान भ्याट लगायतका समस्या समाधान तथा आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने,

यस्तै नापतौल विभागसँग समन्वय गरी नापतौल ढक तराजु नविकरण अपग्रेड लगायतका समस्या समाधान गर्ने,

१४. खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग सरोकार राख्ने व्यवसायीहरुका समस्या उक्त कार्यालयसँगको समन्वय र सहकार्यबाट समाधान गर्ने,

१५. घरधनी र व्यवसायीहरुबिच घर वहालमा देखिएको कतिपय असमझदारिलाई स्थानीय निकायसमेतको समन्वयमा समाधान गर्ने,

१६. नेपाल उद्योग वाणिज्य महासंघ र तिनै तहका सरकारको सहकार्यमा बिर्तामोड क्षेत्रलाई देशकै व्यवसायिक हब बनउन पहल गर्ने ।

१७. नेपाल उद्योग व्यवसाय संचालन गर्न विभिन्न समस्याहरु देखिएका कारण आवश्यक प्रवन्ध मिलाई लगानी मैत्री वातावरण सिर्जना गर्ने,

१८. उद्योग व्यवसाय संचालन गर्ने क्रममा देखिएका कतिपय कानुनी कठिनाईहरु र झन्झटिला प्रक्रियाहरुलाई सरल बनाउनका लागि सहजीकरण गर्दै औद्योगिक करिडोर निर्माण गर्ने,

१९. बजारमा बाटोघाटो धुलोधुवाँ अव्यवस्थित पार्किङका कारण व्यवसायीले भोग्नुपरिरहेको कठिनाईलाई मनन गरी सफा र स्वच्छ सहर बनाउन सरोकारवाला निकायसँग सहकार्य गर्ने र कतिपय काममा सहकार्य गरी समाधान गर्ने,

२०. उद्योग व्यवसाय क्षेत्रमा हुने गरेका चोरी लगायतका घटनालाई मध्यनजर गर्दै सडक बत्ती सिसिक्यामेरा लगायतको व्यवस्था गरी बजारलाई सुरक्षित र भयमुक्त बनाउने,

२१ नेपाली उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मेला महोत्सव आयोजना गर्नुका साथै उक्त कार्यका लागि आवश्यक स्थानको छनौट गरी जमिन खरिद गरेर प्रदर्शनी स्थल निर्माण गर्ने,

२२. उद्योग व्यापार क्षेत्रमा आवद्ध श्रमीक कर्मचारीहरु र उद्योगी व्यवसायीहरुविच देखिएका भाडा र लोड अनलोड लगायतका समस्याको समाधान गरी व्यवसायमैत्री वातावरण सिर्जना गर्ने ।

२३ . भन्सार कार्यालय आन्तरीक राजश्व कार्यालय र राजश्व अनुसन्धान लगायतका कार्यालयहरुसँग व्यवसायिक कतिपय समस्याको समाधान गर्न आवश्यक पहल गरी मैत्रीपुर्ण वातावरण तयार गर्ने,

२४. बजार क्षेत्रलाई सफा सुन्दर बनाउन हरेक नगर निर्माणका लागि स्थानिय सरकारसँग सहकार्य गर्ने बजार क्षेत्रमा भित्रिएका मालबस्तुहरुलाई लोडअनलोड लगायतमा देखिएका कठिनाईलाई व्यवस्थित गोदामको प्रवन्ध मिलाउन पहल गर्ने

२५. सुदुर पूर्वमा अव्यवस्थित यस बिर्तामोड नगर पहाडी जिल्लाहरुसँगको अब्बल व्यवसायिक केन्द्र भएकाले विशेष गरी कृषिजन्य उत्पादनलाई सहज बिक्रिवितरण केन्द्रको रुपमा विकास गर्ने आधुनिक कृषि मण्डी निर्माण गर्ने,

२६. कृषि उत्पादनमा जोड दिन यस क्षेत्रका कृषकलाई समयमा नै मल बिउको व्यवस्था गरी कृषिको व्यवसायिकरण्मा जोड दिने ।

२७. बसपार्क तथा साना गाडीहरुको पार्किङलाई व्यवस्थित गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने,

२८. यस क्षेत्रका सामाजिक शैक्षिक तथा व्यवसायिक संस्थासँग सहकार्य गरी उद्योग व्यवसायमैत्री वातावरणसहितको बिर्तामोडको दिगो विकासका लागि अभियान सञ्चालन गर्ने

२९. उद्योग व्यवसायिहरु बीचको एकतालाई सदैव प्राथमिकता दिने थियो ।

बुँदाका लागि धेरै प्रतिवद्धताहरु भए पनि पुरा गर्ने सवालमा महोत्सव बाहेक केहि पनि काम नभएको व्यापारीहरुको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]