बैशाख १८, २०८१ मंगलबार

व्यापारीलाई नझुक्याऊ

सम्पादकीय
झापाको ठुलो बजारमध्येको एउटा मुख्य बजार बिर्तामोडलाई यतिवेला मिनी निर्वाचनको गर्मागर्मी छ । जताततै व्यवसायी निर्वाचनको चर्चा बढ्दो छ । फागुन १४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाता भेटमा व्यस्त छन् । मतदातालाई आफ्नो पक्षमा बनाउने गरी उम्मेदवारहरु मसिनो ढंगबाट बजारमा दौडिरहेका छन् । निर्वाचन नजिक आउदै गर्दा उम्मेदवारहरु मतदातालाई प्रभावित बनाउने अनेक उपाय लगाइरहेका छन् । यो निर्वाचन विगतको जस्तो छैन । विगतमा एक किसिमको परिस्थिति थियो । अहिले परिस्थिति बदलिएको छ । मतदाताले वाणिज्य संघमा ठुलै परिवर्तन चाहेको बुझिन्छ ।

बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचन नजिक आउदै गर्दा मतदाताहरुले अघिल्लो निर्वाचनलाई पनि स्मरण गर्नुपर्छ । अघिल्लो निर्वाचनमा जीत हासिल गरेको नेतृत्वले के–के काम गरेको छ । वाणिज्य संघ हुनुले व्यवसायीहरुलाई के कुरामा साथ सहयोग भयो ? पसल उद्घाटनमा रिवन काट्ने बाहेक कुनै काम भए भएनन् ? आम मतदाताहरुले खोजी गर्नैपर्छ । अध्यक्ष प्रणालीको संस्थामा अध्यक्षको योजना, इच्छा विना केहि संभव हुदैन । त्यसको उदाहरण, अहिलेको वाणिज्य संघ पर्याप्त छ । त्यसैले वाणिज्य संघको निर्वाचनमा काम गर्न सक्ने, योजना निर्माण गर्न सक्ने, परिकल्पनाको क्षमता राख्ने नेतृत्वको खाँचो पर्छ ।

वाणिज्य संघमा मतदाता पनि व्यवसायी नै हो । संघलाई प्रभावकारी बनाउने हो भने मतदाताले विवेक पुराउनैपर्छ । वाणिज्य संघमा विगतदेखिको परम्परागत नेतृत्वको विराजमान छ । यो नेतृत्वले उद्घाटनमा रिवन काट्ने बाहेक केहि काम फत्ते गर्न सक्दैन । यसैले मतदाताले आउँदो निर्वाचनमा होस् पुराउनुपर्ने देखिन्छ । ०७७ मा भएको निर्वाचनमा प्रकाश शिवाकोटी अध्यक्षमा निर्वाचित भए । उनको लोकतान्त्रिक प्यानलले २९ वटा साझा प्रतिवद्धता सार्वजनिक गरेको थियो । अब, मत माग्न आउनेहरुलाई त्यसमध्ये कतिवटा प्रतिवद्धता पुरा भयो ? भन्ने जिज्ञासा राख्नु उपयुक्त हुन्छ । त्यसै बमोजिम आगामी नेतृत्व चयन गरेर जाऔं । प्रतिवद्धताको संख्या धेरै देखाएर व्यापारीहरुलाई झुक्याउने काम नगरौं ।

प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]